![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/min-bishwkrma2021-02-16-12-54-39.jpeg)
कांग्रेस नेता मीन विश्वकर्माले संविधानको धारा ७६ (५)बमोजिमको प्रधानमन्त्रीका लागि दाबी पेस गरिएकाले यसमा दलीय बन्धन नलाग्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्ने ठाउँ शीतलनिवास नभई संसद भएकोसमेत बताएका छन् ।
नेता विश्वकर्माले प्रतिनिधिसभाका सदस्यको हैसियतले सांसदहरूको हस्ताक्षर संकलन गरिएकाले यसमा दलीय बन्धन वा कारबाही हुने कानुनी व्यवस्था आकर्षित नहुने बताएका छन् ।
‘संविधानको धारा ७६ (३)बमोजिमको सरकारले विश्वासको मत लिन नसकेको वा प्राप्त गर्न नसकेको वा प्राप्त गर्न नसक्ने स्थितिलाई आधार बनाई राष्ट्रपतिज्यूले २१ घन्टाको समयसीमा दिएर धारा ७६ (५)बमोजिम प्रतिनिधिसभाका सदस्यलाई बहुमत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्रीका लागि आधार पेस गर्न आह्वान गर्नुभएको थियो,’ विश्वकर्माले भनेका छन्, ‘यसमा विभिन्न दलका सांसदहरूले व्यक्तिगत हैसियतले सामूहिक हस्ताक्षर गरी वैकल्पिक सरकारको दाबी गरिएको हो । यसमा फरक दलका सांसदहरूले व्यक्तिगत हैसियतमा हस्ताक्षर गर्ने कुरा संवैधानिक व्यवस्था रहेकाले दलीय बन्धन लाग्ने वा कारबाही हुने कुराले कानुनी हैसियत राख्दैन ।’