मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ५ बुधबार
  • Thursday, 19 December, 2024
२o७८ जेठ ५ बुधबार o६:१७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनमा रोकिएका कन्टेनर  नेपाल ल्याउन थालियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ५ बुधबार o६:१७:oo

डेढ वर्षदेखि चीनको केरुङमा रोकिएका नेपाली कन्टेनर नेपाल ल्याउन थालिएको छ । नेपाली पक्षका अधिकारीको पहलमा ०७६ माघ १५ देखि केरुङमा रोकिएका नेपाली कन्टेनर चिनियाँ पक्षले नेपाल ल्याइदिन सुरु गरेका हुन् । 

सोमबार केरुङमा डेढ वर्षदेखि रोकिएको ना२ख ९९७२ नम्बरको कन्टेनर सामान लिएर नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । त्यसैगरी, मंगलबार ना८ख ५९६५ र ना२ख ९९७७ नम्बरका दुई कन्टेनर सामान लिएर नेपाल भित्रिएको उनले बताए । उक्त नेपाली कन्टेनर चिनियाँ पक्षले नै नेपालतर्फको यार्डसम्म ल्याइदिएको उनले बताए । ‘सोमबार तीनवटा कन्टेनर आउँछ भनेर चिनियाँ पक्षले जानकारी गराएका थिए, तर दुईवटा कन्टेनर नेपाल ल्याइँदै गर्दा बाटोमा बिग्रिएकाले मर्मत गरी नेपाल ल्याइएको छ,’ उनले भने, ‘नेपाली कन्टेनर व्यवसायीसँग बुझेर गाडीको नम्बरसहित यतिवटा गाडी त्यता रोकिएको छ भनेर चिनियाँ पक्षलाई जानकारी गराइसकेका छौँ ।’ 

रसुवा भन्सार कार्यालयको तथ्यांकअनुसार चीनतर्फको भूभागमा नेपाली १८ वटा कन्टेनर डेढ वर्षदेखि रोकिएर बसेका छन् । चिनियाँ भूभागमा रोकिएका नेपाली कन्टेनर चिनियाँ पक्षले नै अब नेपालसम्म ल्याइदिने भएका छन् । बिग्रिएका भए मर्मत गरेर नेपाली भूभागमा ल्याइदिने चिनियाँ पक्षले जनाएको छ । नेपालसम्म ल्याएको खर्च भने सम्बन्धित कन्टेनर व्यवसायीले नै तिर्नुपर्ने बताइएको छ । 

डेढ वर्षदेखि नेपाली व्यवसायीका कन्टेनर चीनतर्फ रोकिँदा घर धितो राखेर बैंकबाट ऋण लिई व्यवसाय सुरु गरेका व्यवसायी लाखौँ रुपैयाँ घाटा व्यहोर्नुपरेको भन्दै चिन्तित भएका थिए । कन्टेनर चीनतर्फ रोकिएपछि व्यवसायीले बैंकको किस्तासमेत तिरेका छैनन् । बैँकले किस्ता तिर्न ताकेता गरी पत्र पठाइरहेको छ । व्यवसाय नै धरापमा परेपछि बैंकको किस्ता तिर्न समस्या भएको व्यवसायीहरूले बताएका छन् । बैंकको किस्ता तिर्न नसकेर घरवास गुम्ने खतरामा परेको व्यवसायीहरूले गुनासो गर्दै आएका थिए । 

०७६ माघ १५ मा ल्होसारका कारण आयात–निर्यात ठप्प भएको थियो । त्यसलगत्तै कोरोना भाइरसका कारण चीनले नाका बन्द गरेसँगै सामान लिन चीनको केरुङ पुगेका कन्टेनर उतै रोकिएका थिए । रोकिएका कन्टेनर नेपाल ल्याउन पहल गरिएको लामो समयपछि मात्र अहिले चिनियाँ पक्ष आफैँले ल्याउन सुरु गरेका हुन् । गएको जेठ २२ गतेसम्म चीनले रसुवागढी नाका बन्द गर्‍यो । त्यसयता चीनले एकतर्फी मात्र नाका खुला गरेको छ । उसले दैनिक ५ देखि ८ वटा आफ्नै गाडीमा नेपाल सामान निर्यात गरिरहेको छ । नेपालतर्फबाट हुने निर्यात तथा आवागमन ०७६ माघ १५ देखि ठप्प रहेको छ ।