
सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ जंगलमा प्रहरी र सिकारी समूहबीच दोहोरो भिडन्त भएको छ । बिहीबार ईश्वरपुर नगरपालिका– ४ सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा गस्तीमा रहेको प्रहरी र बन्दुकधारी सिकारीहरूबीच गोली हानाहान भएको हो । गोली फायरिङ गरेर प्रहरीले एकजना सिकारी र तीन थान भरुवा बन्दुकसमेत बरामद गरेको जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
उक्त स्थानमा पछिल्लो समय अवैध गतिविधि बढेको आशंकामा प्रहरी गस्ती बढाएको जिल्ला प्रहरीका एसपी राठौरको भनाइ थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय ईश्वरपुरबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको कमान्डमा खटिएको प्रहरी गस्ती टोली र हतियारधारी सिकारीहरूबीच गोली हानाहान भएको हो ।
प्रहरी उपरीक्षक राठौरका अनुसार प्रहरी गस्ती टोलीलाई शंका लागेर जंगलमा पुग्दा चारजनाको समूहमा रहेका हतियारधारी समूहले गोली चलाएको र प्रहरीले जवाफी कारबाही गरेको हो । उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । प्रहरीले फायर खोल्दै अघि बढेपछि हतियारधारी समूह हतियार छोडेर भागेकाे छ । भाग्ने क्रममा प्रहरीले ईश्वरपुर नगरपालिका– ४ का ४० वर्षका रणबहादुर गोलेलाई पक्राउ गरेको हो । फरार अन्य तीनजनाको खोजी तीव्र पारिएको प्रहीले जनाएको छ ।