
आफ्नो देशमा घटेका विपत्तिको रिपोर्टिङमा निकै होसियार हुने पश्चिमी मिडिया विदेशी भूमिमा घट्ने दुर्घटनाका समाचार प्रसारण गर्दा पत्रकारिताको संवेदनशीलतालाई बेवास्ता गर्ने गर्छन्
कुनै पनि सामूहिक विपद्को समाचार सम्प्रेषण गर्दा पत्रकारको आधारभूत नियमले पीडित र शोकाकुलहरूप्रति संवेदनशील हुनु भन्छ । पश्चिमी मिडियाले यो नियमलाई देशभित्र त पालना गर्छन्, तर गैर–पश्चिमी समाजको विपत्तिको समाचारमा भने बेवास्ता गर्ने गर्छन् । भारतले सामना गरिरहेको कोभिड–१९ को दोस्रो लहरको रिपोर्टिङका क्रममा यही देखियो । पश्चिमी मिडिया अहिले भारतका मृत शरीर र अन्य हृदयविदारक दृश्यले भरिएका छन् । जबकि, पश्चिमी देशले विपद् सामना गर्दा यस्ता दृश्य देखाइँदैन । हालसम्म कोभिड–१९ बाट भएका मृत्युमध्ये आधा युरोप र अमेरिकामा मात्र भएका छन् । यद्यपि, पश्चिमी मिडियाले ती क्षेत्रका दुःखद तस्बिर देखाएनन् ।
युरोप र अमेरिकामा महामारी शिखरमा हुँदा कुनै पत्रकारले क्यामेरा बोकेर अस्पतालको इमर्जेन्सी कक्षमा प्रवेश गरेर डाक्टर र नर्स कति धेरै दबाबमा काम गरिरहेका छन् भनेर देखाउने कुरा सोच्न पनि सकिँदैनथ्यो । तर, अहिले भारतीय अस्पतालभित्रका यस्ता दृश्य अन्तर्राष्ट्रिय मिडियामा प्रसारण भइरहेका छन् । आपत्कालीन कक्षमा हुने घुसपैठले जीवन–मृत्युमा फरक पार्न सक्छ भन्ने कुरा बेवास्ता गरिएको छ । पश्चिमी टेलिभिजन पत्रकारले प्रियजन गुमाएका भारतीय परिवारको शोकलाई पश्चिमी दर्शकको प्रदर्शनीमा बदलिदिएका छन् । तर, आफ्नो देशको शोकबारे रिपोर्ट गर्दा उही मिडिया संस्थाहरू थप होसियार हुन्छन् ।
उदाहरणका लागि न्युयोर्क सहरमा कोभिड–१९ बढेको समयमा गाड्ने स्थानको अभाव हुँदा पुराना स्मारक खनिएका थिए । तर, टाइम म्यागजिनले त्यस घटनाको रिपोर्टिङ गर्दा चिहानभन्दा पनि छेउका रूखहरूको तस्बिर छापेको थियो । तर, भारतको महामारीको खबर छाप्दा उही म्यागजिनले शव जलेको चिताका तस्बिरहरू छान्यो । अन्य पश्चिमी मिडियाले पनि उस्तै तस्बिर देखाइरहेका छन् । जबकि, हिन्दूहरूले आफ्ना प्रियजनको चिताको तस्बिरलाई आमखपतको रूपमा प्रयोग हुँदा अपमान महसुस गर्ने गर्छन् । तर, यो कुरा अन्तर्राष्ट्रिय मिडियाले बेवास्ता गरिरहेका छन् ।
विदेशी भूमिमा घट्ने दुर्घटनाका समाचार प्रसारण गर्दा पश्चिमी मिडियाले संवेदनशीलता नदेखाएको यो पहिलोपटक भने होइन । सन् २०११ को फुकुसिमा दुर्घटनापछि चुहिएको विकिरणको समाचार प्रसारण गर्दा पनि पीडितलाई कम प्राथमिकता दिइएको थियो । दुर्घटनाका अधिकांश समाचारमा जापानी सांस्कृतिक तथा जातीय पहिचानलाई हल्का रूपमा देखाइएको थियो । जस्तो– दुर्घटनाग्रस्त आणविक भट्टीभित्र रहेर काम गरिरहेका श्रमिकलाई ‘आणविक सामुराई’, ‘आत्मघाती मिसनमा आणविक निन्जा’जस्ता उपनाम दिइएको थियो । यथार्थमा भने फुकुसिमामा एकजनाको पनि ज्यान गएको थिएन । प्रशासनले समयमै १० हजार बासिन्दालाई उद्धार गरेकाले यो सम्भव भएको हो । तर, पश्चिमी मिडियाले दुर्घटनालाई कैयौँको ज्यान गएको चेर्नोबिल दुर्घटनासँग तुलना गरिरह्यो । यो सनसनीपूर्ण कभरेजले गर्दा कार्गो जहाजहरूले हतारमा जापानी बन्दरगाह छाडेका थिए । कैयौँ देशले टोकियो र अन्य सहरबाट आफ्ना नागरिकलाई फिर्ता गरेका थिए ।
पश्चिमी मिडियाले अफ्रिकामा पनि यस्तै शैली अपनाउँछन् । सन् २०१४–१६ को इबोला महामारीमा गिनी, लाइबेरिया र सियरालियोनका झन्डै ११ हजार ३२५ मानिसको ज्यान गयो । दुई वर्षको अवधिमा तीन देशमा अमेरिकामा कोभिड सबैभन्दा उच्च रहँदा दुई दिनमा भएको बराबर मानिसको ज्यान गएको थियो । तर, पश्चिमी मिडिया भने शव हालिएका ब्याग, पश्चिम अफ्रिकाको दाहसंस्कार रीतमै केन्द्रित भइरहे । सन् २०१५ को पुलिट्जर पुरस्कारको फिचर फोटोग्राफरतर्फको पुरस्कार सोही विपद् पछ्याएका न्युयोर्क टाइम्सका फोटोग्राफरले पाएका थिए । तर, हाम्रो समयको सबैभन्दा ठूलो विश्वव्यापी स्वास्थ्य विपत् कोभिड–१९ महामारीसम्बन्धी फोटो २०२० को पुलिट्जर पुरस्कारको मनोनयनमा समेत परेन । पश्चिमी मिडियाले छाप्ने पीडा, शोक, निराशा र असहायतासम्बन्धी समाचार मुख्यतः सुदूर भूमिबाट आयात गर्ने गर्छ । पश्चिमी मिडियामा अमेरिकी सेनाको मृत शरीर बिरलै प्रकाशित हुन्छ, तर अफगान, इराकी र अन्यत्रका फोटो भने अक्सर छापिने गर्छन् ।
पश्चिमी मिडियामा पनि मुख्यतः ब्रिटिस–अमेरिकी मिडियाको आधिपत्य छ । पश्चिमी मिडियाहरूले देशभित्रका खराब समाचारलाई पनि सनसनीपूर्वक नदेखाउने होइन । तर, विपद्का समाचारमा भने तिनले अन्यत्रका दुःखद समाचारमा सांस्कृतिक संवेदनशीलता, गोपनीयताको पूर्ण बेवास्ता गर्ने गर्छन् । यो दोहोरो मापदण्डले केही दुष्परिणाम निम्त्याउने गर्छ । विश्वभर प्रभावशाली पश्चिमी मिडियाले प्रस्तुत गर्ने समाचारले अन्तर्राष्ट्रिय धारणालाई आकार दिन्छ । इबोला महामारीसम्बन्धी सनसनीपूर्ण तस्बिर र समाचारले त्यहाँको महामारी वास्तविकभन्दा निकै भयावह रहेको परेको थियो । त्यस्तै, इबोला महामारी तीन पश्चिमी अफ्रिकी मुलुकमा मात्र सीमित थियो, तर पनि भाइरसलाई सम्पूर्ण अफ्रिकासँग जोडियो ।
एक पत्रकारको कर्तव्य आमजनतालाई सूचित गर्नु हो, सुदूर स्थानका मानवीय पीडालाई आफ्नो संस्थाको रेटिङ बढाउन प्रयोग गर्ने होइन । असल पत्रकारिता सनसनी खोज समाचारमा मात्र निर्भर हुँदैन । कोरोना भाइरस तीव्र गतिमा म्युटेसन भएर गम्भीर रूपमा फैलिरहँदा हामीले थप जिम्मेवार भएर संवेदनशील रिपोर्टिङमा जोड दिनुपर्छ ।
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य
नयाँदिल्लीमा रहेको सेन्टर फर पोलिसी रिसर्चका प्राध्यापक चेलानी बर्लिनस्थित रोवर्ट वोस्च एकेडेमीका फेलो पनि हुन् ।