१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २२ बुधबार १५:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वन्यजन्तु तस्करीका नाइके कुन्जोकलाई सात वर्ष कैद 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २२ बुधबार १५:२५:००

वन्यजन्तुसम्बन्धी अपराधमा हालसम्मकै ठूला अभियुक्त भनिएका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङलाई अदालतले दोषी ठहर गरी सात वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत रसुवाले उनलाई बुधबार सजाय सुनाएको हो । 

न्यायाधीश राजेन्द्र नेपालको इजलासले सात वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जले उनलाई १५ वर्षसम्म कैद सजायको माग गरेको थियो । 

१५ वर्षअघिको एक तस्करीमा संलग्न तामाङलाई गत वर्ष १० असारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । रसुवाका जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इलजासले उनलाई अवैध रूपमा अखेटोपहार ओसारपसार गरेको मुद्दामा गत ८ असारमा नै दोषी ठहर गरेकोमा सजाय भने बुधबार तय भएको अदालतकी स्रेस्तेदार मुना अधिकारी ढकालले बताइन् । 

कुन्जोक वन्यजन्तु मुद्दामा नेपालमा पक्राउ परेका अहिलेसम्मकै ‘हाइप्रोफाइल’ अभियुक्त भएको प्रहरी अधिकारी बताउँछन् । उनीमाथि अधिकतम सजाय हुनुपर्ने भएपछि अपराधको तुलनामा कम मात्र कैद सजाय भएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीको टिप्पणी छ । यस्तो अपराधमा पाँचदेखि १५ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । ऐनले न्यायाधीशलाई तजबिजी अधिकार दिएकाले दोषी ठहर भएर पनि उनले कैद सजाय भने थोरै मात्र भएको छ । 

१५ वर्षपछि कसरी पक्राउ परे कुन्जोक ? 
प्रहरीले १५ वर्षको मिहिनेतपछि उनलाई पक्राउ गरेको हो । ०६२ मा रसुवामा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा उनको संलग्नता देखिएको थियो । तर, त्यसवेला रसुवाको स्याफ्रुबेंसीमा ६ वटा बाघको छाला, ३६ वटा चितुवोका छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । रसुवास्थित नेपाली सेनाको दुर्गाबक्स गणको चेकिङमा उनीहरू पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा त्यसमा कुन्जोकको संलग्नता खुलेको थियो । त्यसवेला विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर उनको मुद्दा मुल्तबीमा राखिएको थियो । सिआइबीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएकोमा गत वर्ष १३ असारमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको नौ महिनापछि मुद्दाको फैसला भएको थियो । पुर्पक्षमा पठाउने आदेशविरुद्ध उनी उच्चदेखि सर्वोच्चसमेत गएकोमा उनको पक्षमा आदेश नभएपछि अहिले पनि उनी थुनामै छन् । आफू प्रहरीले दाबी गरेको कुन्जोक नभएको भन्दै उनी अदालत गएका थिए । 

कुन्जोक नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै खोजी भएका अभियुक्त हुन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले समेत उनको सूचना संकलन गरी नेपाललाई पठाउँदै आएको थियो । वन्यजन्तु तस्करीको विभिन्न अन्तर्राष्ट्रिय गिरोहमा उनको संलग्नता देखिएको भन्दै इन्टरपोलले सूचना दिने गरेको थियो । मोस्टवान्टेड भए पनि उनी अमेरिकादेखि विभिन्न देश पुग्ने गरेका थिए । प्रहरीले कुन्जोक लामाको नाममा उनलाई खोजी गरिरहेको थियो । तर, उनले कुन्जोक छिरिङ तामाङको नामबाट नागरिकता बनाई कारोबार गरिरहेका थिए । १५ वर्षपछि कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ एउटै व्यक्ति भएको पुष्टि गरेर मुद्दा दायर भएको हो । 

त्यतिखेर उनले प्रयोग गरेको सिमकार्ड अहिले पनि उनको साथबाट बरामद भएको थियो । अभियुक्तहरूले बयानमा बताएको मोबाइल नम्बर अहिले पनि उनले प्रयोग गर्दै आएका थिए । सिमकार्ड लिनेवेला प्रयोग गरिएको हस्ताक्षर र बैंकमा प्रयोग भएको हस्ताक्षर एउटै छ । विगतमा उनको वास्तविक नाम र ठेगाना पत्ता नलाग्दा इन्टरपोलबाट रेड नोटिस पनि जारी हुन सकेको थिएन । त्यतिवेला राष्ट्रिय निकुञ्जका कर्मचारीले समेत वास्तविक नाम पत्ता लगाउने प्रयास नगरी उनलाई उन्मुक्ति दिने प्रयास भएको थियो । पक्राउ पर्ने डरले केही महिनायता उनी आफ्नो घरमा समेत बस्न छाडेका थिए 
 
भारतीय अधिकारीहरूबाट नेपाल प्रहरीलाई आएको सूचनाअनुसार उनीआबद्ध समूहले करिब ६ सयवटा बाघको चोरी सिकारी गरेको छ । भारतका कुख्यात वन्यजन्तु तस्कर संसार चन्द तथा सहिबर कुरैसीको समूहसँग मिलेर उनले काम गरेको पुष्टि भइसकेको छ । भारतमा प्रहरीले ठूलो मात्रामा बाघको छाला बरामद भएको घटनामा उनको समेत संलग्नता खुलेको थियो । जसमा उनलाई फरार सूचीमा राखिएको छ । रसुवामा पक्राउ परेका समूहले त्यसअघि पनि आफूहरूले पटकपटक बाघका छाला तथा हड्डी ओसारेको बयान दिएका थिए । 

भारतमा पनि उनी मोस्टवान्टेड छन् । सन् १९९९ मा गाजियावादमा बरामद भएको बाघको छालाको तस्करीमा उनको संलग्नता देखिएको थियो । सन् २००० मा उत्तर प्रदेशको खागामा तथा सन् २००८ मा मध्यप्रदेशको हरियाणामा बाघको छाला बरामद भएकोमा त्यसको नाइके उनी भएको खुलेको थियो । सोही आधारमा भारतले पटकपटक नेपालसँग उनलाई पक्राउबारे छलफल गरे पनि उनी फेला परेका थिएनन् । 

उनी करिब २० वर्षदेखि नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका– ६ हुम्लाबाट उनले नेपाली नागरिकता लिएका छन् । जेठी श्रीमती हुम्लामै रहेकोमा कान्छी श्रीमतीसँग जोरपाटीमा बस्दै आएका थिए । प्रहरीदेखि केही नेताहरूसँग समेत उनको निकट सम्बन्ध देखिएको प्रहरी स्रोत बताउँछ । उनी पक्राउ परेपछि सो गिरोहमा रहेका अन्य व्यक्तिहरूमाथि अनुसन्धान अघि बढेको छ । जसमध्ये केही अमेरिकामा बस्दै आएको खुलेको छ । वन्यजन्तुसम्बन्धी अपराधमा नेपालमा अहिलेसम्म यति उच्च तहको व्यक्ति पक्राउ नपरेको प्रहरी अधिकारीहरू बताउँछन् । इन्टरपोलले पनि उनको अन्तर्राष्ट्रिय नेटवर्कमाथि थप अनुसन्धान अघि बढाएको छ । उनको गिरोहका केही व्यक्ति अझै फरार छन् ।