मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख २० सोमबार १८:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हातपात गर्ने प्रहरीलाई कारबाही गर्न सांसदहरूको माग

Read Time : > 1 मिनेट
२०७८ बैशाख २० सोमबार १८:४२:००

लुम्बिनी प्रदेशका महिला सांसदले आफूहरूमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको भन्दै हातपात गर्नेमाथि कारबाही गर्न माग गरेका छन् । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आइतबार प्रदेश प्रमुखको कार्यालयमा प्रहरीबाट महिला सांसदमाथि हातपात भएको भन्दै हातपातमा संलग्नमाथि कारबाही गर्न माग गरेका छन् ।

प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, पुर्मती ढेगा, लौटी थारू, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् । ‘प्रदेश प्रमुखको कार्यालयमा आइतबार साँझ अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको शपथ रोक्न हामीहरू धर्नामा थियौँ,’ उनले भनिन्, ‘प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुकले महिला प्रहरी प्रयोग नगरी आफैँ हातपातमा लागे । महिला सांसदहरूको संवेदनशील अंगमा हातपात भएको छ, हातपात गर्ने प्रहरी प्रमुख धानुकलाई कारबाहीको माग राखेका छौँ ।’

नेकपा माओवादी केन्द्रका सांसद दामा शर्माले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी दमन गरिएको बताइन् । कांग्रेस सांसद रमा अर्यालले प्रहरी दमन निन्दनीय रहेको बताइन् । 

विपक्षी गठबन्धनले शंकर पोखरेलविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने
लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले अल्पमतमा रहेको दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र शपथ गराइएको घटनाको कानुनी र राजनीतिक लडाइँ लड्ने बताएको छ । सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनोडियाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरलाई कति दिन संसदबाट भाग्नुहुन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘पोखरेल नेतृत्वको सरकार कति दिनसम्म टिक्छ ? संसदबाट कति दिन भाग्नुहुन्छ ? नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने होला नि ?’

केन्द्रमा केपी ओलीको तानाशाही र लुुम्बिनीमा पोखरेलले तानाशाही लाद्न खोजेको उनको आरोप थियो । तानाशाहीलाई परास्त गरेरै छाड्ने भन्दैै उनले संसद्को सामना गर्न नसकेर पोखरेलले एकपछि अर्काे टिकडम अपनाएको आरोप लगाए । 

४२ सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनको ठहर छ ।

स्वतन्त्र सांसदको विज्ञप्ति, आफूहरूको समर्थन मुख्यमन्त्रीलाई
लुम्बिनीमा स्वतन्त्र समूहबाट चुनाव जितेका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेको भन्दै सोमबार विज्ञप्ति सार्वजनिक गरेका छन् । उनीहरूले आइतबार आफूहरू विपक्षी गठबन्धनको पक्षमा उभिएको बताएका थिए ।  

सोमबार सार्वजनिक भएको नवलपरासी पश्चिम १ (ख)बाट स्वतन्त्र राजनीतिक समूह (हृदयेश त्रिपाठी समूह) बाट चुनाव जितेका अजय शाही र कपिलवस्तु २ (ख)बाट चुनाव जितेका सोही समूहका धर्मबहादुरलाल श्रीवास्तवको विज्ञप्तिमा एमाले संसदीय दलप्रति प्रतिबद्ध रहेको उल्लेख छ । गठबन्धनका तर्फबाट नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्दै प्रदेश प्रमुखसमक्ष आइतबार पेस गरिएको पत्रमा उनीहरूको हस्ताक्षर थियो ।