मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १७ शुक्रबार
  • Tuesday, 07 January, 2025
ड्यारोन एसेमोग्लु
२o७८ बैशाख १७ शुक्रबार o९:५६:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायु परिवर्तन भर्सेस प्रविधि युटोपिया

Read Time : > 3 मिनेट
ड्यारोन एसेमोग्लु
नयाँ पत्रिका
२o७८ बैशाख १७ शुक्रबार o९:५६:oo

विगत केही शताब्दीमा मानिसको कौशलबाट धेरै उपलब्धि हासिल भएका छन् । त्यसलाई हेरेर पछि विकास हुने प्रविधिबाट जलवायु संकट समाधान हुन्छ भन्ने आस गर्नु निकै खतरनाक हुन सक्छ । 

मानव जगत्ले जलवायु संकटजस्तो भयानक सामूहिक चुनौती पहिले कहिल्यै सामना गरेको थिएन । कुल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन आगामी तीन दशकभित्र लगभग शून्यमा झारे मात्र तापमान वृद्धिलाई पूर्व–औद्योगिक समयको स्तरबाट दुई डिग्री सेल्सियमा सीमित राख्न सकिन्छ । यो सीमा जति बढी हुन्छ, हामीले त्यति नै भयानक स्तरको स्थिति सामना गर्नुपर्ने हुन्छ । अमेरिका पुनः पेरिस जलवायु सम्झौतामा फर्किएपछि विश्वले यो चुनौतीविरुद्ध पुनः केन्द्रित हुन आवश्यक छ ।

जलवायु संकटप्रति बिल गेट्सजस्ता प्रतिष्ठित व्यक्तिले बोल्न थाल्नु स्वागतयोग्य कुरा हो । गेट्सले ‘हाउ टु एभोइड अ क्लाइमेट डिजास्टर’ नामक नयाँ पुस्तकमा जलवायु संकट समाधानका लागि नयाँ विचार र प्राविधिक नवप्रवर्तनमा जोड दिनुपर्ने तर्क गरेका छन् । तर, सौर्य जियो–इन्जिनियरिङतर्फको उनको प्रयास गलत छ । यसले जलवायु परिवर्तन रोक्न आवश्यक प्रयासलाई ठूलो हानि पुर्‍याउँछ । 

सौर्य जियो–इन्जिनियरिङ साधारण विचारमा अडेको छ, अर्थात् हामीले हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न सकेनौँ भने ताप सिर्जना गर्न जिम्मेवार प्रकाशको उज्यालोलाई नै किन नरोक्ने ? यसका लागि प्रकाश परावर्तन गर्ने वस्तु निर्माण गर्ने प्रस्तावना गरिएको छ । प्रकृतिमा ज्वालामुखी विस्फोट भएको क्षेत्रवरपर पनि केही समयका लागि प्रकाश छेकिन्छ । सन् १९९१ मा माउन्ट पिनाटुबोमा भएको ज्वालामुखी विस्फोटलगत्तै पछि ठूलो मात्रामा सल्फरिक एसिड र धुलो वायुमण्डलमा पुगेको थियो । यसले पृथ्वीसम्म आइपुग्ने प्रकाशको ठूलो परिणाम केही समयसम्म छेकिदिएको थियो । माउन्ट पिनाटुबोको ज्वालामुखी विस्फोटपछिका तीन वर्षमा विश्वव्यापी तापक्रममा ०.५ डिग्री सेल्सियसले कमी आएको थियो ।

सौर्य जियो–इन्जिनियरिङ परियोजनामा धेरै प्रतिभावान् मानिसहरू लागिरहेका छन् । हार्वर्ड विश्वविद्यालयको ‘स्ट्राटोस्फेरिक कन्ट्रोल्ड परटरबेसन एक्सपेरिमेन्ट’सँग आबद्ध वैज्ञानिकहरूले विषालु सल्फेट ऐरोसोलको साटो क्याल्सियम कार्बोनेटको धुलो प्रयोग गर्ने प्रस्ताव गरेका छन् । त्यसबाहेक उनीहरूको बाँकी विचार उस्तै छ । यस क्षेत्रका अधिकांश अनुसन्धानलाई गेट्स आफैँले सहयोग गरिरहेका छन् । 

सौर्य जियो–इन्जिनियरिङबाट के समस्या आउला ? सौर्य जियो–इन्जिनियरिङका सम्भावित जोखिम सम्भावित फाइदाजतिकै धेरै छन् । माउन्ट पिनाटुबोको ज्वालामुखी विस्फोटले जलवायुमा मात्र परिवर्तन ल्याएको थिएन, यसले ओजोन तहको विध्वसंलाई तीव्र बनाएको थियो । अझ जलवायु परिवर्तनमाथि नै प्रभाव पार्ने हो भने ज्वालामुखी विस्फोटको भन्दा निकै ठूलो स्तरमा काम गर्नुपर्छ । यसले पनि विश्वको केही हिस्साको तापक्रमलाई मात्र न्यून बनाइदिन्छ । प्रभाव विश्वभर समान रूपमा वितरण नहुने हुँदा भूराजनीतिक अस्थिरता बढाइदिन्छ । 

कुनै परियोजनाको सम्भावित सफलता र त्यसको सम्भावित घाटा उत्तिकै छ भने त्यसको व्यावहारिकता जाँच्न सानो स्तरको परीक्षण गर्नु उचित हुन्छ । तर, यस्तो परीक्षणले बृहत्तर आकारले निम्त्याउने साँचो जोखिमलाई नदेखाउन पनि सक्छ । सूर्यको प्रकाश छेक्ने धुलोको बादलले सानो स्तरमा एउटा प्रभाव पार्न सक्छ भने ठूलो स्तरमा बिल्कुल फरक प्रभाव पार्न सक्छ । 

सौर्य जियो–इन्जिनियरिङ एकदम असल मनसायले लागू गर्न खोजेको भए पनि यसका अँध्यारा पक्ष छन् । हामीले प्रयोगमा नआइसकेको यो प्रविधि धेरै प्रभावकारी छ भन्ने सोच्यौँ भने हाल सही मानिएका समाधानप्रति बेवास्ता गर्न थाल्नेछौँ । जस्तो, कार्बन कर र नवीकरणीय ऊर्जामाथिको लगानी बढाउने कार्य छायामा पर्छन् । अर्थशास्त्रीले यसलाई ‘मोरल हाजर्ड’ (नैतिक जोखिम) भन्ने गर्छन् । 

आर्थिक पात्रलाई आफ्नो असावधानीपूर्ण व्यवहारको मूल्य तिर्नुपर्दैन भन्ने लाग्यो भने उनीहरूले थप लापरबाही गर्न थाल्नेछन् । जलवायु परिवर्तनको सन्दर्भमा सरकारले विपद् न्यूनीकरणका लागि आवश्यक कठिन विकल्प नछानीकनै यथास्थितिलाई जारी राख्न सकिन्छ भन्ने लागेपछि उनीहरूले कठिन विकल्प पन्छाउँछन् । त्यसपछि कार्बन कर हट्नेछ, हरित अनुसन्धानप्रतिको चाख कम हुनेछ र उपभोक्ताले पनि आफ्नो कार्बन योगदान घटाउन आवश्यक ठान्न छाड्छन् । 

‘मोरल हाजर्ड’ले सरकारलाई मात्र प्रभावित पार्दैन । सौर्य जियो–इन्जिनियरिङको चर्चा बढ्यो भने निजी क्षेत्रले पनि स्वच्छ ऊर्जातर्फको संक्रमणलाई बेवास्ता गर्ने अनुसन्धानले देखाएको छ । अहिले नवीकरणीय ऊर्जामा लगानी गरिरहेका फर्मले भविष्यमा कडा जलवायु नियम र कठोर कार्बन कर लागू हुने विश्वासमा काम गरिरहेका छन् । 

जलवायु विपद् टार्ने हो भने कार्बन कर र नवीकरणीय ऊर्जाको विकल्प छैन । हामीले कार्बन कर तथा नवीकरणीय ऊर्जा विस्तार गर्न जति ढिला गर्छौं, त्यति नै भविष्यमा जलवायु चुनौती सामना गर्न कठिन हुन्छ । सौर्य जियो–इन्जिनियरिङमा गेट्सको सहयोग प्रविधि–युटोपियाको एक अभिव्यक्ति हो । प्रविधि समस्या समाधानको एक हिस्सा हुनुपर्छ, तर यसले मात्र जादुको छडी जसरी शताब्दियौँदेखि जम्मा भएको कार्बन उत्सर्जनलाई ठीक गर्न सक्दैन । 

प्रविधि–युटोपियाले महँगो लगानीको आवश्यकतालाई अस्वीकार गर्छ र झट्टै ठीक हुने उपाय खोज्छ । अनि त्यसलाई समाजमाथि लाद्न खोज्छ । यस दृष्टिकोणले बीसौँ शताब्दीमा कैयौँ सामाजिक विपद् निम्त्याएको राजनीतिक वैज्ञानिक जेम्स सी. स्कटले देखाएका छन् । सौर्य जियो–ेइन्जिनियरिङप्रतिको नयाँ उत्साहले पुनः त्यही गर्न सक्छ ।

प्रविधि–युटोपियावादका असरहरू अहिले नै विभिन्न क्षेत्रमा देख्न सक्छौँ । जस्तो, आर्टिफिसियल इन्टेलिजेन्सबाट असाधारण फाइदा हुने भनिएको थियो, तर अहिले त्यसले ठूलो स्तरमा श्रमिक विस्थापित गरिरहेको छ वा विभेद निम्त्याइरहेको छ । 

अमेरिकी स्वास्थ्य सेवामा यसको उदाहरण पाइन्छ । अमेरिकाले आफ्नो कुल गार्हस्थ्य उत्पादनको १८ प्रतिशत स्वास्थ्यमा खर्च गर्छ । तर, जनस्वास्थ्य, रोग रोकथाम र बृहत्तर स्वास्थ्य बिमाको साटो उच्च प्राविधिक समाधानमा जोड दिँदा खर्चअनुरूपको परिणाम देखिँदैन । अमेरिका स्वास्थ्य सेवालाई विश्वका कैयौँ देशभन्दा कमजोर मानिन्छ । जलवायु परिवर्तनले त थप ठूलो चुनौती पेस गरेको छ । त्यसलाई माथिबाट वाचा गरिएको असाधारण प्रविधिमार्फत ठीक हुन्छ भनेर बेवास्ता गर्न सकिँदैन । 

एमआइटीका अर्थशास्त्रका प्राध्यापक एसेमोग्लु ‘ह्वाई नेसन फेल’का सहलेखक हुन् । 
© Project Syndicate 2020
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य