१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ बैशाख ९ बिहीबार १६:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झलनाथ खनाल भन्छन्– अझै पनि ओली सच्चिने हो भने कम्युनिस्ट एकता सम्भव छ 

Read Time : > 1 मिनेट
२०७८ बैशाख ९ बिहीबार १६:२९:००

एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भष्मासुर प्रवृत्ति सुधार्न सुझाब दिएका छन् । खनाल–नेपालपक्षीय एमाले कास्की जिल्ला कमिटीले बिहीबार आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टीको ७२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै खनालले ओलीको भष्मासुर प्रवृत्तिकै कारण नेपाली कम्युनिस्ट आन्दोलन अप्ठ्यारो अवस्थामा आइपुगेको बताएका हुन् । 

खनालले भनेका छन्, ‘अझै पनि ओली सच्चिने हो भने कम्युनिस्ट एकता सम्भव छ ।’ एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा ओली निर्वाचित भएसँगै उनले पार्टीलाई नवअवसरवादी भड्काउतर्फ लाने प्रयास गरिरहेको खनालले आरोप लगाए । ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा देशभर गुटमार्फत पार्टी सञ्चालन गरेको उनको आरोप छ । 

ओली नेतृत्वको सरकारलाई नै उनले ओली गुटको सरकारको संज्ञा दिए । ओलीले मन्त्रिपरिषद् गठनदेखि योजना आयोग बनाउँदासम्म पार्टीसँग कुनै सल्लाह नगरेको र गुटको मन्त्रिपरिषद् र गुटकै योजनामा अगाडि बढेको खनालको जिकिर छ । 

ओली विधि र पद्धत्तिमा हिँड्नुभन्दा गुटको आधारमा चल्दा जनताको आशा र भरोसामा घात भएको उनले बताए । ‘नेपाली जनताको मत कम्युनिस्ट पार्टीप्रतिको भरोसाका रूपमा प्रकट भयो । नयाँ ढंगले विकास र अग्रगतिका साथ समाजवादसम्म देशलाई कम्युनिस्ट पार्टीले पु¥याउने भरोसा नागरिकमा थियो । हामी दलाल पुँजीवादलाई रोक्दै देशलाई समाजवादको बाटोमा लैजाने पक्षमा थियौँ । तर, ओलीले दलाल पुँजीवादलाई नै मठ मान्दै त्यसैको परिक्रमा गरे । गुटको मन्त्रिपरिषद् निर्माण गरे । प्लानिङ कमिसन पनि गुटकै बनाए । अनि हिजो जसरी चलेको थियो त्यसरी नै अगाडि बढ्ने सोच राखे । दुई–चारवटा बाटो बनाउनु नै विकास हो भन्ने ठाने । उनले तीन–तीनवटा बजेट र नीति तथा कार्यक्रम ल्याउने समय पाउँदा पनि अवसरलाई यत्तिकै खेर मात्र फालेनन्, कम्युनिस्ट आन्दोलनलाई नै यो अवस्थामा पु¥याए,’ उनले भने । 

खनालले कम्युनिस्ट पार्टी नीति र विधिले चल्ने भन्दै डण्डा र निगाहाले कम्युनिस्ट पार्टी नचल्ने बताए । ‘धम्की र डन्डा लगाएर कम्युनिस्ट पार्टी न हिजो बनेको थियो न आज आज या भोलि बन्छ,’ उनले भने, ‘फराकिलो ढंगले सोच्ने र विधि–पद्धतिमा चल्ने हो भने अझै पनि पार्टी एकता सम्भव छ । कम्युनिस्ट आन्दोलन जोगिन्छ ।’

पाँच ज्येष्ठ कम्युनिस्टलाई सम्मान 
नेपाल–खनालपक्षीय नेकपा एमाले कास्कीले कास्कीका पाँच ज्येष्ठ कम्युनिस्ट नेतालाई सम्मान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको ७२औँ स्थापना दिवसको अवसर पारेर उनीहरूलाई बिहीबार सम्मान गरिएको हो । 

वरिष्ठ नेता खनालको भर्चुअल उपस्थितिमा एमाले पोलिटब्युरो सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्यहरू चूडामणि जंगली र श्रीनाथ बराल, जिल्ला कमिटी अध्यक्ष धनराज आचार्यसहितका नेताहरूले ज्येष्ठ कम्युनिस्ट ९९ वर्षीय देवीदत्त तिवारी, ७५ वर्षीय मीनराज पौडेल, ८३ वर्षीय तेजबहादुर गुरुङ, ८२ वर्षीय लेखनाथ शर्मा पौडेल र ७९ वर्षीय रुद्रमोहन भट्टराईलाई सम्मान गरेका हुन् । 

उनीहरूलाई माला, खादा, दोसल्लासहित सम्मानपत्रले सम्मान गरिएको थियो । सम्मानित ज्येष्ठ कम्युनिस्ट नेताहरूले विगतमा दिएको योगदानबारे विजयबाबु बनबासी, चूडामणि जंगली, श्रीनाथ बराल, डा. टंक अधिकारी र पूर्ण लामाले जानकारी दिएका थिए ।