१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ बैशाख ७ मंगलबार ०७:५६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माओवादीको कारबाहीपछि बोहराको प्रदेश सांसद खारेज

Read Time : < 1 मिनेट
२०७८ बैशाख ७ मंगलबार ०७:५६:००

नेकपा माओवादी केन्द्र छाडेर एमालेतिर लागेका प्रदेश सरकारका पूर्वमन्त्री झपटबहादुर बोहराको सुदूरपश्चिम प्रदेश सभा सदस्य पद खारेज भएको छ । दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार बोहरालाई निष्कासन गरिएको सूचना माओवादीले प्रदेश सभा सचिवालयलाई दिएको थियो ।

सभामुख अर्जुनबहादुर थापाले बोहरालाई माओवादी केन्द्रले कारबाही गरेकाले उनको प्रदेश सभा सदस्य पद रिक्त भएको जानकारी प्रदेश सभा बैठकमा गराएका छन् । अन्य दलको गतिविधिमा संलग्न भएकाले संविधानको धारा १८०, राजनीतिक दलसम्बन्धी ऐन र प्रदेश सभा नियमावली २०७४ बमोजिम बोहरा पदमा नरहेको सभामुख थापाले बताए । बोहरा गत निर्वाचनमा माओवादी केन्द्रबाट अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र २ बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 

नेकपा विभाजनपछि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीबाट राजीनामा दिएर उनी केपी ओली समूहमा लागेका थिए । बोहरा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टनिकट मानिन्छन् । भट्टले माओवादी छाडेर ओलीलाई साथ दिँदै आएका थिए । एमाले अध्यक्ष ओलीले बोहरालाई पार्टीको केन्द्रीय सदस्य बनाएका छन् । बोहराको पद खोसिएसँगै ५३ सदस्यीय प्रदेश सभामा एक सदस्य संख्या घटेको छ । प्रदेश सभामा माओवादी केन्द्रका १४ सदस्य थिए ।