प्रतिपक्षी दलहरूले निरन्तर अवरोध जारी राखिरहेकै वेला प्रदेश १ सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै संसद् बैठक अवरोध गर्दै आएका प्रतिपक्षी दलका सांसदहरूले आइतबार दिउँसोको बैठकमा पनि अवरोध जारी राखेपछि सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।
संसद्को बैठकमा अवरोध जारी राखेकै बीचमा सभामुख भण्डारीले प्रदेश प्रमुखले पठाएको अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका थिए । अधिवेशन अन्त्यको पत्र सभामुखले पढेर सुनाउँदै गर्दा प्रतिपक्षी सांसदहरूले संसद् अधिवेशन अन्त्य गर्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए । तर, सभामुख भण्डारीले प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्न पठाएको परिपत्र प्रदेश सभामा ५ वैशाखमा दर्ता भइसकेकाले सोहीअनुसार नाराबाजीबीच अधिवेशन अन्त्य गरेको घोषणा गरे ।
आइतबार दिउँसो साढे १ बजेतिर सुरु भएको प्रदेश सभाको बैठकमा प्रतिपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुख भण्डारीले आफ्ना कुरा राख्न सांसदहरूलाई आग्रह गरेका थिए । तर, प्रतिपक्षी सांसदहरूले अवरोध कायमै राखेपछि जवाफ दिन सरकारको तर्फबाट मुख्यमन्त्री शेरधन राई उपस्थित भएकोले बसेर बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए ।
प्रतिपक्षी दलहरूले समझदारी नभई मुख्यमन्त्रीले सदनमा बोल्न लागेको भन्दै अवरोध कायमै राखेका थिए । त्यसपछि प्रदेश १ सभाको सातौँ तथा हिउँदे अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामुखले पढेर सुनाएका हुन् ।
गत ७ माघमा सुरु भएको हिउँदे अधिवेशन विधेयक पारित नगरी अन्त्य भएको छ । प्रदेश १ मा प्रतिपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र, जसपा, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चले मुख्यमन्त्री राई नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।
बजेट निर्माण गर्ने समय आइसक्दा पनि चालू वर्ष विनियोजन भएका कार्यक्रमहरूका लागि रकम निकासा हुन नसकेको, प्रदेश गौरवका आयोजनाहरू पनि रकम अभावमा अलपत्र परेको, सरकारले योजना र कार्यक्रमको वितरण, कर्मचारी सरुवा, बजेट निर्माण र खर्चलगायतका काममा सुशासनमुखी भएर काम नगरेको, विकासको योजनाहरू अलपत्र बनाएको, बजेटमा उल्लेख भएका योजनाहरूको निकास अझै गराउन नसकेको आरोप प्रतिपक्षी सांसदहरूको छ ।