१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख ४ शनिबार ०६:४२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसुवा भन्सारमा लक्ष्यको ५२ प्रतिशत राजस्व संकलन

Read Time : < 1 मिनेट
२०७८ बैशाख ४ शनिबार ०६:४२:००

भन्सार कार्यालय टिमुरेले चैत महिनामा लक्ष्यको ५२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०७७/७८ को चैत महिनामा राखेको लक्ष्यको ५२ दशमलव ५ प्रतिशत मात्र राजस्व संकलन गरेको हो । 

चैत महिनामा ६२ करोड ६९ लाख ६६ हजार रुपैयाँ राजस्व  संकलनको लक्ष्य राखेको कार्यालयले ३२ करोड ९४ लाख १ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । जुन लक्ष्यको २९ करोड ७५ लाख ६५ लाख रुपैयाँ कम हो । 

कोरोनाका कारण चीनले एकतर्फी नाका खोल्नु, सामग्रीको आयात कम हुनु र नाकामा आयात–निर्यात सहज बन्न नसक्दा राजस्व संकलनमा कमी आएको उनको भनाइ छ । 

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको एक वर्ष बढी भएको छ । यसको असर भन्सार राजस्व असुलीमा देखिएको छ । रसुवागढी नाकाबाट आयात–निर्यात सहज बन्न नसक्दा लक्ष्यको तुलनामा निकै कम राजस्व संकलन भएको छ । नाकामा सहज रूपमा आयात–निर्यात नहुँदा रसुवा भन्सारको राजस्व असुलीको लक्ष्य भेट्न सकेको छैन् । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । दैनिक चिनियाँ सात कन्टेनरमा सामान आयात भइरहेको छ । सामग्री लोड–अनलोड गर्नका लागि नेपाली कामदार नाकामा खटिएका छन् । 

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।