मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ५ बुधबार
  • Wednesday, 19 May, 2021
नयाँ पत्रिका
२०७७ चैत ३० सोमबार ०८:०५:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

विकासको मानवीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ चैत ३० सोमबार ०८:०५:००

विकास शब्द आफैँमा बहुआयामिक अर्थ बोक्ने एउटा अवधारणाको प्रतिनिधि शब्द हो । यसले मानिसका चाहना, आकांक्षा, सपना, त्यससँग जोडिएको अर्थराजनीति र विश्व दृष्टिकोणको एकैपटक प्रतिनिधित्व गर्छ । नेपालले विकास खोजेको दुईवटा कारणसहित हो ।

एउटा विश्वका अरू मानिसले हासिल गरेको जीवनशैली र सुविधा समान आफ्नो ठाउँमा पनि परिवर्तनको आकांक्षा । अर्को परम्परागत समाज, अर्थतन्त्र, उत्पादन सम्बन्ध र संस्कृतिसहितका विविध आयाममा रहेका समस्या या दुःखबाट मुक्तिको खोजी । युरोपेली औद्योगिक क्रान्तिको उपजका रूपमा आएको आधुनिकता यसको जगमा रहेको छ । यी दुवै कुरा आफैँमा खराब होइनन् । तर, विकास कसले कसका लागि गरिरहेको हो, कर्ता को हो र उपभोक्ता को हो भन्ने प्रश्नले यावत् समस्या सिर्जना भएका छन् । 

यो साता दुई दृष्टिले नेपालमा विकासे बहस चर्चामा छ । पहिलो, गत साता वायु प्रदूषणको कारण र प्रभावले गर्दा । दोस्रो, दमक नगरपालिकाले २० भन्दा बढी सुकुम्बासी परिवारका घर भत्काएर दमक नगरपालिकाले बनाउन थालेको सपिङ कम्प्लेक्सले गर्दा । वायु प्रदूषणको मुख्य कारण मानवीय क्रियाकलापले प्रकृतिमाथि गरेको हस्तक्षेप नै हो ।

बढ्दो औद्योगीकरण, ऊर्जाका निम्ति कोइला र खनिज तेलको बढ्दो अत्यधिक प्रयोग, निर्माणका क्रममा भत्काइने पाखा पखेरा या जमिन, घरेलु वा औद्योगिक उपयोगका लागि फाँडिने जंगल, लगाइने डढेलो सबै मानवीय क्रियाकलाप नै हुन्, जसले वायुमण्डलमा धुलो र धुवाँको मात्र बढाइदिएको छ । पछिल्लो समयका यिनै क्रियाकलापको परिणामस्वरूप जलवायु परिवर्तनको संकट गहिरिँदो छ । यो समग्र प्रक्रिया औद्योगिक क्रान्ति र उपभोक्ता क्रान्तिसँग जोडिएको छ ।

पुँजीवादी विकास होस् या समाजवादी कुनै पनि विकास मोडलले यो संकट उत्पन्न नहुने गरी विकास गर्ने विधि अपनाएको पाइन्न । उद्योग, सहर, यातायातको विकास, उपभोग्य सामानको अत्यधिक प्रयोग जता हेरे पनि तिनले मान्छेलाई हैरान पार्ने प्रदूषण र विनाश निम्त्याएका छन् । यता दमक नगरपालिकाले सकुम्बासीलाई उनीहरूका घरका भाँडाकुँडा, लत्ताकपडा र खाने सामलसमेत उठाएर घरबारविहीन बनाइदिएको छ । उनीहरू खुला आकाशमुनि बस्न बाध्य छन् ।

सपिङ कम्प्लेक्स र भ्यु टावरहरू जनताको जीवनभन्दा ठूला पक्कै पनि होइनन्, जुन विकासले मानिसको हित र आकांक्षा पूर्ति गर्दैन त्यस्तो विकासलाई जनताले आत्मसात् गर्न गाह्रो पर्छ
 

सुकुम्बासीको वस्तुस्थिति बुझ्दा उनीहरू लामो समयदेखि त्यस ठाउँलाई नै आफ्नो थातथलो बनाएर बसेका थिए भन्ने प्रस्टै हुन्छ । नगरपालिका आफैँमा जनताका प्रतिनिधिले चलाएको सेवामुखी सरकार हो । यसको काम कमसेकम आफ्नो क्षेत्रभित्र कसैले भोकै बस्न नपरोस्, उपचार नपाएर मर्न नपरोस्, शिक्षाबाट वञ्चित हुनु नपरोस् र वासको समस्या कसैले व्यहोर्नु नपरोस् भन्ने पनि हो । यी कुराले मानवीय पक्ष देखाउँछन् । यस्ता प्रयास नभएका पनि होइनन् । 

तर, नगरपालिकाले निजी क्षेत्रको जस्तो सपिङ कम्प्लेक्स त्यो पनि साततले बनाउन लागेको छ, ४० करोडको लागतमा । त्यही सपिङ कम्प्लेक्स बनाउन अहिले सुकुम्बासीलाई घर न घाटको बनाएर उनीहरू बसिआएको घर भत्काइएको छ । खुला आकाशमुनि बसिरहेका यी नागरिक देशको प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका हुन् ।

सुकुम्बासीका भत्किएका घरका पर्खाल प्रधानमन्त्रीका आँखामा बिझाउनुपर्ने हो किनभने उनीहरूले नै दिएको मतका आधारमा उनी प्रधानमन्त्री भएका हुन् । वास्तवमा संविधानले तोकेबमोजिम भइरहेका घरवास भत्काउन नपाइनु पर्ने हो, तर उनीहरूको छानो भत्किएसँगै त्यसले संविधानको मर्मलाई नै भत्काइदिएको छ । सपिङ कम्पलेक्स र भ्यु टावरहरू जनताको जीवनभन्दा ठूला पक्कै पनि होइनन् । जुन विकासले मानिसको हित र आकांक्षा पूर्ति गर्दैन त्यस्तो विकासलाई जनताले आत्मसात् गर्न गाह्रो पर्छ भन्ने सबैले हेक्का राख्नुपर्छ ।