
नयाँ पत्रिकाकर्मी मीनराज बसन्त प्रादेशिक प्रतिभा पुरस्कार– २०८१ गण्डकी प्रदेशबाट सम्मानित भएका छन् । बुधबार राजधानीमा संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री छविलाल विश्वकर्माले भाषा–साहित्य विधामा बसन्तलाई सम्मानसहित पुरस्कार प्रदान गरे ।
दुई दशकदेखि नेपाली भाषा–साहित्यमा साधनारत बसन्त यसअघि गणेश–हस्तकुमारी पन्त स्मृति पुरस्कार (२०७३), नीलकण्ठ प्रतिभा पुरस्कार (२०७३), कविडाँडा साहित्य सम्मान (२०७३), अनेसास सर्वोकृष्ट कृति पुरस्कार (सन् २०१७, अमेरिका), नवोदित कृति अवार्ड (२०७६), कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार (२०७७) र गुरु गणेश–विष्णु स्मृति पुरस्कार (२०७७) बाट सम्मानित भइसकेका छन् ।
बसन्तका ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) उपन्यासका साथै लेनिन (जीवनी) र पहेँलो छाता (आख्यान) अनुवादसमेत प्रकाशित छन् । मन्त्रालयले प्रादेशिक प्रतिभाअन्तर्गत नै भाषा तथा साहित्य विधामा कोशीबाट विमला तुम्खेवा, मधेशबाट श्यामसुन्दर शाह, बागमतीबाट नर्मदेश्वरी सत्याल, लुम्बिनीबाट भगवानदास यादव, कणालीबाट समिर शाह र सुदूरपश्चिम प्रदेशबाट नरेन्द्रप्रसाद भट्टलाई सम्मान गरेको हो ।