नौ वर्षीया बालिकाको बलात्कार प्रयासपछि कर्णालीमा बगाएर हत्या

शनिबार, २८ चैत, २०७७
डिजिटल संस्करण

बलात्कार प्रयास गर्दा इन्कार गरेपछि ढुंगामा पछार्दा मूर्छित भएकी बालिकालाई आरोपीले मुगुकर्णाली नदीमा बगाएर हत्या गरेको प्रहरीको भनाइ

मुगुकर्णाली नदीमा मृत फेलापरेकी सोरु गाउँपालिका– ९ कालै गाउँकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि हत्या भएको खुलेको छ । बालिका लक्ष्मी सोरु गाउँपालिका– ८ तारानीमा बाबु सिद्धिलाल चौलागाईंसँग बस्दै आएकी थिइन् । सोही ठाउँका २० वर्षीय प्रवेश रावलले २१ चैतमा बलात्कारको प्रयासपछि लक्ष्मीको हत्या गरेर नदीमा फालेको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी हत्या आरोपी रावललाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार रावलले २१ चैतको अपराह्न सवा पाँच बजेतिर शौच गर्न घरबाट करिब पाँच सय मिटर टाढा घाट भन्ने स्थानमा गएकी बालिकालाई बलात्कारको प्रयास गरेका थिए । तर, बालिकाले प्रतिकार गरेपछि धकेलेर ढुंगामा पछार्दा उनी  मूर्छित भएकी थिइन् । मदिरा सेवन गरेका रावलले त्यसपछि नजिकै रहेको मुगुकर्णाली नदीमा बालिकालाई बगाइदिएका थिए । 

२१ गते बेलुकीबाटै बालिकाको खोजी भए पनि फेलापरेकी थिइनन् । २३ चैतमा माछा मार्न गएका स्थानीयले नदीको बीचमा अड्किएको अवस्थामा उनको शव फेलापारेका थिए । घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक नरेश विकले बालिकाको शव भेटिएको स्थानभन्दा केही माथि चाउचाउका दुई खोल, बालिकाको निलो रङको एक जोर चप्पल बरामद भएको जानकारी दिए । बालिकाका बुबा सिद्धिलाल व्यापारका सिलसिलामा जिल्लाबाहिर छन् । 

स्थानीय विद्यालयमा दुई कक्षामा अध्ययन गर्ने बालिकाको पत्तो नलागेपछि आफन्तले प्रहरीलाई समेत जानकारी गराएका थिए । प्रहरी र स्थानीय खोजीमा लागेका थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २४ गते रावललाई नियन्त्रणमा लिएको थियो । त्यसको भोलिपल्ट दाजु धनराज चौलागाईंले बलात्कारको प्रयासपछि बहिनीको हत्या भएको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका थिए । बालिकाको जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ । थप अनुसन्धानका लागि भिसेरा र भजाइनल स्वाब विधि–विज्ञान प्रयोगशाला वा नास्टमा पठाइने प्रहरीले जनाएको छ । 

सुझावित समाचार