मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
अर्जुन अधिकारी काठमाडाैं
२०७७ चैत २७ शुक्रबार ०६:१३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वैशाखभित्र १० लाख डोज खोप पठाउन सिरमलाई सरकारको तेस्रो पत्र

Read Time : > 2 मिनेट
२०७७ चैत २७ शुक्रबार ०६:१३:००

सरकारले भारतीय कोरोना खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियालाई वैशाख महिनाभित्र बाँकी खोप पठाउन तेस्रोपटक पत्राचार गरेको छ । नेपालले पहिलो चरणमा सिरमसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो, जसमध्ये १० लाख डोज मात्रै आएको छ । बाँकी १० लाख डोज खोप अहिलेसम्म नआएकाले नेपालमा खोप अभियान प्रभावित हुने भएपछि तेस्रोपटक ताकेता पत्र पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय र सिरमबीच गत ५ फागुनमा प्रतिखोप चार डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सहमति भएको थियो । सहमति भएको तीन दिनमा दश लाख पठाएको थियो । बाँकी १० लाख त्यसको एक हप्ता अर्थात् १५ फागुनभित्र पठाइसक्ने सहमति भएको थियो । खोप आउने विश्वासमा सरकारले ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी दिइसकेको छ । 

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार सिरमले पछिल्लो समय विभिन्न बहानामा टार्ने काम गरिरहेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले सिरमसँग कुरा भइरहेकाले दोस्रो डोजका लागि अभाव नहुने विश्वास व्यक्त गरे । ‘सिरमले खोप दिन्नँ भनेको छैन,’ उनले भने, ‘खोपको उत्पादनभन्दा माग बढी भएकाले समस्या परेको जवाफ सिरमले दिएको छ । उसले पहिलो प्राथमिकता नेपाल भनेकाले दोस्रो डोजलाई प्रभावित बनाउँदैन भन्नेमा हामी आशावादी छौँ ।’ 

डा. झलक शर्मा गौतम स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा

सिरमले खोप दिन्न भनेको छैन । खोपको उत्पादनभन्दा माग बढी भएकाले समस्या परेको जवाफ सिरमले दिएको छ । उसले पहिलो प्राथमिकता नेपाल भनेकाले दोस्रो डोजलाई प्रभावित बनाउँदैन भन्नेमा हामी आशावादी छौँ ।

सिरमले वैशाख महिनाभित्र खोप नपठाए जेठबाट सुरु हुने दोस्रो डोज अभियान प्रभावित बनाउनेछ । सरकारले कोभिसिल्डबाहेक अन्य कुनै पनि कम्पनीसँग खरिदको प्रक्रिया अगाडि बढाएको छैन । पहिलो चरणमा खोप लगाएका साढे चार लाख स्वास्थ्यकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई ७ देखि ११ वैशाखसम्म खोप लगाइनेछ । उनीहरूका लागि पुग्ने खोप मौज्दात राखिएको छ । तर, ६५ वर्षदेखिमाथिका नागरिकलाई लगाउने दोस्रो डोज अहिलेसम्म सुनिश्चित भएको छैन । हालसम्म १८ लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । 

गत ८ माघमा भारतले दश लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएपछि १४ माघदेखि खोप अभियान सुरु गरिएको थियो । सिरमले खोप दिने भनेर नेपालले भुक्तानी गरेको ४८ दिन पुगेको छ । ‘सिरमले नेपालले पठाएको अग्रिम भुक्तानी रकम ४८ दिनदेखि होल्ड गर्दा खोपको मूल्य चार डलरबाट बढ्न गएको छ, यो आमनेपालीको पैसा हो । ती अधिकारीका अनुसार जति रकम होल्ड गरेर खोप पठाउँदैन, सिरमलाई त्यति नै फाइदा हुन्छ भने नेपाललाई दैनिक घाटा भइरहेको छ ।’ सिरमले जति ढिला खोप दिन्छ, यसको मूल्य महँगो पर्दै जान्छ । अहिलेसम्म १० लाख डोजको मूल्य प्रतिडोजमा नेपाली चार रुपैयाँ महँगो भइसकेको छ । यसलाई आधार मान्दा हरेक दिन एक लाख ३६ हजार नौ सय ८६ रुपैयाँ घाटा लाग्छ । 

गाभीले धोका दियो
जनसंख्याको २० प्रतिशतलाई खोप उपलब्धता गराउने भन्दै ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य संगठन मिलेर ‘कोभ्याक्स सुविधा’ले प्रतिबद्धता जनाएका थिए । उनीहरूले पहिलो चरणमा फागुन पहिलो साता २२ लाख ५६ हजार डोज खोप उपलब्ध गराउने सूची सार्वजनिक गरेको थियो । कोभ्याक्सले नेपालमा प्रयोग भइरहेको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप दिने भनि सुनिश्चितता गरेको थियो । तर, अन्तिममा तीन लाख ४८ हजार डोज खोप दिएपछि सरकारलाई समस्या परेको हो । ५५ वर्षमाथि उमेर समूहमा दोस्रो चरण सुरु गर्ने निर्णय गरेको सरकार खोप अभाव भएपछि ६५ वर्षमाथिकालाई मात्रै लगाउने अवस्थामा पुगेको थियो ।

कुन अस्पतालमा कति छन् बिरामी ?
पछिल्लो २४ घन्टामा देशभर तीन सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार चार हजार ६ जनाको पिसिआर परीक्षण गर्दा सो परिमाणको संख्या थप भएको हो । बुधबार तीन सय ३९ जना संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा दुई सय ९८ र एन्टिजेन परीक्षणमा ४१ गरी तीन सय ३९ जनामा कोरोना पजिटिभ देखिएको थियो । हालसम्म कोरोनाबाट नेपालमा तीन हजार ३८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर दुई हजार चार सय ५४ जना एक्टिभ संक्रमित छन् । तर, उनीहरूमध्ये एक सय दुईजना अस्पतालको आइसोलेसनमा, ४४ जना आइसियू र १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।