
नेपाल बंगलादेश बैंक लिमिटेड र नेपाल सुनचाँदी व्यवसायी महासंघबीच बैंकिङ साझेदारी सम्झौता भएको छ । सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार महासंघसँग आबद्ध सुन व्यवसायीले नेपाल बंगलादेश बैंकका नेपालभरिका शाखाहरूबाट विभिन्न बैंकिङ सुविधाहरू प्राप्त गर्न सक्ने जनाइएको छ । साथै, नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले सुनचाँदी पसलहरूमा खरिदकर्ताले नेपाल बंगलादेश बैंकको क्युआर कोडमार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
साथै, नेपालभरका महासंघसँग आबद्व महिला तथा दलित समुदायद्वारा सञ्चालित सुनचाँदी व्यवसायीले सहुलियतपूर्ण ‘महिला उद्यमशील कर्जा’ तथा ‘दलित समुदाय व्यवसाय विकास कर्जा’ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले देशभरमा ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८१ एटिएममार्फत बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।