मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ५ बिहीबार १९:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले परिस्थिति सम्हालेर जानुपर्छ : प्रकाशमान सिंह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ५ बिहीबार १९:४९:००

कांग्रेस नेता प्रकाशमान सिंहले संविधान र विधि पद्धतिबमोजिम निर्वाचन हुने भए कांग्रेसलाई स्वीकार्य हुने बताएका छन् । ‘जे गर्ने हो, त्यो संविधान र संसद्भित्र गर्नुपर्छ । विधिऽ पद्धति र प्रक्रिया मिचेर जान हुँदैन । प्रतिनिधिसभा भनेको जनप्रतिनिधिहरूको ठाउँ हो । त्यो संविधान, कानुन र विधि, पद्धतिबमोजिम चल्छ । त्यसलाई त्यहीअनुसार चल्न दिनुपर्छ,’ नेता सिंहले नयाँ पत्रिकासँग कुरा गर्दै भने,  ‘सरकार संविधानभन्दा बाहिर जान हुँदैन । त्यस्तो भयो भने जसले जे मन लाग्छ, त्यही गर्ने अवस्था आउँछ । अनि देशी–विदेशी शक्तिको चलखेल सुरु हुन्छ ।’ 

नेता सिंहले संकटको अवस्थामा कांग्रेसले टुलुटुलु हेरेर बस्न नहुने बताए ।  ‘संकटको समाधानका लागि कांग्रेसले सरकारको नेतृत्व गर्न पनि तयार हुनुपर्छ । र, परिस्थिति सम्हालेर जानुपर्छ । तर, सरकार बन्न नसकेको अवस्थामा निश्चित विधि प्रक्रिया पूरा गरेर प्रतिनिधिसभाबाटै निर्वाचनको कुरा आउनुपर्छ । त्यस्तो संवैधानिक चुनाव कांग्रेसले नस्वीकार्ने कुरा भएन,’ नेता सिंहले भने । 

उनले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक काम गरेर पनि गल्तीको महसुस नगरेको भन्दै आफू अचम्मित भएको बताए ।  ‘सरकारले त्यत्रो असंवैधानिक काम गर्‍याे । त्यो कुरा अदालतले पुष्टि गरिसकेको छ । तर, सरकारको नेतृत्व गर्ने मान्छे ‘टस न मस’ भएको अवस्था अचम्मलाग्दो छ,’ उनले भने, ‘ओलीजीलाई अलिकति पनि गल्तीको महसुस भएको देखिँदैन । यदि त्यस्तो महसुस भएको भए उहाँले राजीनामा दिनुपर्ने हो । तर, उहाँ त सामान्य हो भनेर टिप्पणी गरिरहनुभएको छ ।’

सिंहले यति ठूलो संवैधानिक अपराध गरिसकेपछि पनि ओलीलाई अझै पनि आफैँले पुनः दुईतिहाइ ल्याउँछु भनेर लाग्नु र बोल्दै हिँड्नु झनै अचम्मलाग्दो भएको बताए ।  उनले कांग्रेसले राष्ट्रिय राजनीतिको व्यवस्थापन गर्न अग्रसरता लिने विषयमा सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको बताए ।

 ‘हामीले सभापतिजीलाई भनिसकेका छौँ, राष्ट्रिय राजनीतिको व्यवस्थापन गर्न कांग्रेसले भूमिका खेल्नुपर्छ । तपाईं दलको नेता, पार्टी सभापति पनि । अहिलेको संकटबाट देशलाई निकास दिनको निम्ति प्रतिपक्षीको हैसियतले तपाईंले भूमिका खेल्नुपर्छ,’ पदाधिकारी बैठकमा देउवालाई भनेको सुनाउँदै नेता सिंहले भने, ‘ओलीले त्यत्रो ठूलो अपराध गरेको मान्छे, उसैलाई टिकाइराख्ने कुरा राम्रो होइन । तपाईं अघि बढ्नुस् हामी साथमा छौँ ।’ 

उनले परिस्थिति मिल्यो भने देशको बिग्रिएको अवस्था सम्हाल्नका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘सत्ताधारी पार्टीले काम गर्न सकेन । सत्तारुढ दलले गर्न नसकेको अवस्थामा प्रतिपक्षको भूमिका निभाउनुपर्छ ।’