Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
ठेकेदारको बेवास्ताले समयमा पुनर्निर्माण हुन नसकेको दोलखाको मुख्य पर्यटकीय गन्तव्य विगु गुम्बा । तस्बिर : नयाँ पत्रिका
२०७७ चैत ५ बिहीबार ०९:५७:००
Read Time : > 2 मिनेट
प्रदेश प्रिन्ट संस्करण

ठेकेदारको बेवास्ताले विगु गुम्बा पुनर्निर्माण सुस्त

Read Time : > 2 मिनेट
२०७७ चैत ५ बिहीबार ०९:५७:००

दोलखाको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको टासी छिमे गाछल गुम्बा पुनर्निर्माण सम्पन्न हुने दिनको प्रतीक्षामा छ । यही चैतमा सक्ने गरी ०७४ मा सम्झौता भए पनि अहिलेसम्म ६० प्रतिशत मात्रै काम भएको छ । 

भिक्षु उत्पादन गर्ने नेपालकै पहिलो र ऐतिहासिक विगु गुम्बा ठेकेदारको बदमासीका कारण अलपत्र परेको छ । दोलखाको मुख्य पर्यटकीय गन्तव्यको रूपमा परिचित टासी छिमे गाछल गुम्बा अर्थात् विगु गुम्बा पुनर्निर्माणको काम चलिरहेको छ । तर, ठेकेदार कम्पनीले बेवास्ता गर्दा पुनर्निर्माण अघि बढ्न सकेको छैन । 

चार करोड ७० लाख रुपैयाँको लागतमा तीन वर्षमा निर्माण सक्ने गरी तुलसी कन्स्ट्रक्सनले ०७४ चैतमा पुरातत्व विभागसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार यही चैत मसान्तभित्र गुम्बाको पुनर्निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, अहिलेसम्म आधा मात्रै काम भएको स्थानीयले गुनासो गरेका छन् । 

गुम्बा पुनर्निर्माण नहुँदा मूर्ति सुरक्षामा समस्या देखिएको छ भने त्यहाँ रहेका ८५ आनीलाई नित्यपूजामा समेत प्रभावित हुँदै आएको छ । दैनिक सयौँको संख्यामा विगु पुग्ने पर्यटक गुम्बाको कुरूप अवस्था हेर्दै फर्किन बाध्य भइरहेका छन् ।

सक्नुपर्ने वेला ६० प्रतिशत मात्रै काम
सम्झौताअनुसार गुम्बा पुनर्निर्माणको काम यही चैत महिनाभित्र सम्पन्न भइसक्नुपर्ने थियो । समयमै काम भएको भए चैत महिनामा गुम्बा उद्घाटनसमेत गरिन्थ्यो । तर, ठेकेदार कम्पनीले अनेक बहाना बनाई निर्माणकार्यलाई तीव्रता नदिँदा अहिलेसम्म ६० प्रतिशत काम मात्र सम्पन्न भएको छ । 

पुनर्निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले हालसम्म ६० प्रतिशत मात्रै प्रगति गरेको पुरातत्व विभागले जनाएको छ । विभागका इन्जिनियर सुमन बुढाथोकीले निर्माण कम्पनीले काममा ६० प्रतिशत मात्रै प्रगति गरेको जानकारी दिए । निर्माण सुस्त भए पनि कम्पनीले झन्डै ५५ प्रतिशत भुक्तानी लगिसकेको पनि उनले जानकारी दिए । इन्जिनियर बुढाथोकीका अनुसार कम्पनीले कोभिड १९ को महामारीका कारण काममा उल्लेख्य प्रगति नभएकाले चैत मसान्तभित्र काम सक्ने सम्भावना नरहेको जनाएको छ । 

बुढाथोकीले अहिलेसम्म तल्लो तहको पर्खाल र अग्राखको काठ जडान भइसकेको जानकारी दिँदै माथिल्लो भागको थोरै पर्खाल र बला जडान तथा छानो छाउने काम बाँकी रहेको बताए । स्थानीयस्तरमा निर्माण कम्पनीको समन्वय अभावले पनि काममा ढिलाइ भएको हुन सक्ने इन्जिनियर बुढाथोकीको भनाइ छ । निर्माण कम्पनीले स्थानीय कामदारको ज्याला र पेटी कन्ट्र्याक्टरको भुक्तानीसमेत समयमा नदिएको स्थानीय ङावाटासी शेर्पाले बताए । शेर्पाका अनुसार जंगलमा काटिएका काठसमेत ढुवानी नगरी अलपत्र अवस्थामा छोडिएको छ । 

अन्य संरचनाको पुनर्निर्माण सकियो 
गुम्बाको मुख्य भवनबाहेक आनी आवास तथा अन्य भौतिक संरचनाहरूको निर्माणकार्य सम्पन्न भइसकेको छ । पुनर्निर्माण प्राधिकरणले गुम्बा परिसरभित्रै विद्यालय भवन र आनी आवास गृह निर्माण सम्पन्न गरेर एक वर्षअघि नै हस्तान्तरण गरिसकेको छ । प्राधिकरणको भवन कार्यालय दोलखाका प्रमुख इन्जिनियर अर्जुन तामाङले गुम्बामा प्रदेश सरकारको आर्थिक सहयोगमा सामुदायिक भवनहरूसमेत निर्माण भइसकेको जानकारी दिए । 

जस्ताको कटेरोमा पुरातात्विक मूर्ति
गुम्बा पुनर्निर्माण सुरु भएसँगै ऐतिहासिक–पुरातात्विक महत्वका मूर्तिहरू जस्ताको कटेरोमा राखिएको थियो । समयमै गुम्बा निर्माण नहुँदा ती मूर्ति असुरक्षित रूपमा अझै लामो समय कटेरामै राख्नुपर्ने जोखिम रहेको गुम्बाका प्रमुख लामा लोप्साङ ग्याल्छेनले बताए । 

‘पुस्तौँदेखिका अमूल्य र ऐतिहासिक मूर्ति वर्षौंदेखि कटेरोमा थन्क्याएर राखिएको छ । तिनीहरूको सुरक्षामा समेत समस्या हुँदै आएको छ,’ गुम्बा प्रमुख ग्याल्छेनले नयाँ पत्रिकासँग भने, ‘कटेरोमा बलियो सुरक्षा व्यवस्था नहुँदा मूर्ति चोरी हुन्छन् कि भन्ने असाध्यै ठूलो चिन्ता छ ।’ लामाले सरोकारवाला निकायलाई समयमा निर्माण सम्पन्न गर्न पहल गर्न पनि अनुरोध गरे ।

निर्माणको जिम्मा पाएको तुलसी कन्स्ट्रक्सनका प्रतिनिधि मनिराज शाहीले कोभिडको महामारीका कारण गुम्बा पुनर्निर्माणमा ढिलाइ भएको बताए । उनले आगामी असारसम्म म्याद थपका लागि अनुरोध गरिएको भन्दै म्याद थपिए उक्त समयसम्म जसरी पनि पुनर्निर्माणको काम सक्ने बताए ।