मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार ०७:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ट्राफिक जाम घटाउन फ्लाई ओभर निर्माण प्राथमिकतामा : मन्त्री नेम्वाङ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार ०७:००:००

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौंको सडकमा बढ्दै गइरहेको ट्राफिक जाम घटाउन भित्री सडक विस्तार र ‘फ्लाई ओभर’ निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । धेरै ट्राफिक जाम भइरहने ७–८ ठाउँमा फ्लाई ओभर निर्माणका लागि सम्भाव्यता अध्ययन गरिरहेको भन्दै यही आर्थिक वर्षभित्र ३ वटा फ्लाई ओभर निर्माणका लागि टेन्डर आह्वान हुन सक्ने उनको भनाइ छ । 

मन्त्री नेम्वाङले काठमाडौंमा बढ्दै गइरहेको ट्राफिक व्यवस्थापनमा सरकार गम्भीर रहेको बताए । उनी नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसनको शुक्रबार काठमाडौंमा आयोजित ४४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै थिए । ‘हामी भित्री सडकहरू विस्तार, बाहिरी तथा भित्री चक्रपथ निर्माण र विभिन्न ठाउँहरूमा फ्लाई ओभर निर्माण गरेर काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन गर्नेछौँ,’ उनले भने, ‘हामी आगामी बजेटमा यातायात क्षेत्रलाई प्राथमिकतामा राख्नेछौँ ।’

मन्त्री नेम्वाङले देशको समृद्धिका लागि यातायात पूर्वाधार विकासको महत्वपूर्ण भूमिका रहने बताउँदै देशभर सडक पूर्वाधार निर्माणमा जोड दिएको बताए । पूर्व–पश्चिम राजमार्ग विस्तार, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, उत्तर–दक्षिण करिडोरलगायत निर्माणमा सरकारले प्राथमिकता दिएको उनको भनाइ छ । 

नेपाल उद्योगा वाणिज्य महासंघका अध्यक्ष एवं नाडाका पूर्वअध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि अटोमोबाइल क्षेत्रको भूमिका सधैँ महत्वपूर्ण रहने गरे पनि राज्यको यस क्षेत्रलाई हेर्ने नजर नफेरिएको बताए । ‘मुलुकमा अटोमोबाइल क्षेत्र जति चलायमान हुन्छ, यातायात पूर्वाधारको जति विकास हुन्छ, त्यति चाँडै आर्थिक समृद्धि हासिल हुन्छ,’ उनले भने, ‘समृद्धिको सपना त्यतिवेला पूरा हुनेछ, जतिवेला हरेक नेपालीको पहुँचमा कुनै न कुनै रूपमा यातायातको पहुँच पुग्नेछ ।’ 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले स्वदेशमै सवारीसाधन एसेम्बल्ड गर्न सक्ने पर्याप्त सम्भावना भए पनि त्यसतर्फ राज्यले प्रोत्साहन गर्न नसकेको बताए । उनले विद्युतीय गाडीको प्रयोग बढाउन सरकार पनि तात्नुपर्ने बताए । ‘विद्युतीय गाडीको प्रयोग बढाउन सरकारले प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर बढाएर निरुत्साह गर्न खोजिएको छ,’ उनले भने, ‘विद्युतीय गाडीमा लगाइएको चर्को कर घटाएमा मुलुकभित्र वातावरणमैत्री सवारीसाधन चढ्नेको संख्या बढ्दै जानेछ ।’