मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण १८ मंगलबार
  • Saturday, 12 July, 2025
२o७७ फाल्गुण १८ मंगलबार o८:५१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मनाङमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

सरकारी कार्यालय, अस्पताल, विद्यालय र औद्योगिक क्षेत्रमा धमाधम मिटर जडान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण १८ मंगलबार o८:५१:oo

हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइनमार्फत बिजुली पुर्‍याइएको हो । यसअघि उक्त क्षेत्रमा विद्युत् विस्तार नहुँदा लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति भइरहेको थियो । 

राष्ट्रिय ग्रिड पुगेकाले अब विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनले भने, ‘यसअघि लघु जलविद्युत्को भोल्टेज कम हुँदा दैनिक कामकाजमा समेत समस्या हुँदै आएको थियो ।’ 

फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै मनाङमा केन्द्रीय प्रसारण लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले बताए । केन्द्रले जिल्लाको सदरमुकाम चामेको सरकारी कार्यालय, अस्पताल, विद्यालय र औद्योगिक क्षेत्रमा धमाधम मिटर वितरणसँगै मिटर जडानको कामलाई समेत तीव्रता दिइएको केन्द्रका प्रमुख सुवेदीले बताए । 

उनका अनुसार लमजुङको उदिपुर सबस्टेसनदेखि राँधी हाइड्रोपावरसँग कनेक्सन गरी मनाङको चामे गाउँपालिका १ स्यार्कु सबस्टेसनमा जोडिएको छ । केन्द्रले जिल्लाको सदरमुकामसम्म प्रसारण लाइन जडान गरिसकेको छ भने माथिल्लो मनाङ, खाङसार, तिलिचो बेसक्याम्प र थारोङ्ला हाइक्याम्पसम्म पोलिङको काम सकेको र लाइन तान्ने काम बाँकी रहेको केन्द्र प्रमुख सुवेदीको भनाइ छ ।

 लघु जलविद्युत्का भरमा दैनिकी चलाउँदै आएका मनाङवासी गाउँमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइन जोडिएपछि खुसी भएका छन् । मनाङ चामेकी स्थानीय विष्णु गुरुङ गाउँमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको बिजुली आउँदा खुसी लागेको बताउँछिन् ।

उनी भन्छिन्, ‘यसअघि लघु जलविद्युत् भए पनि हिमपात हुँदा बन्द हुनाले समस्या हुन्थ्यो ।’ ०५१ सालबाट मनाङमा केन्द्रीय प्रसारण लाइनको योजना रहे पनि भौगोलिक विकटता र प्रयोग गरेको सामान वातावरणअनुकूल नभएकाले ढिलाइ भएको संघीय सांसद पोल्देन छोपाङ गुरुङले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका–१, भ्राताङमा रहेको एग्रो मनाङ प्रालिका सञ्चालक समराज गुरुङले मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् आएसँगै उद्योगधन्दा सञ्चालनमा समस्या नहुने बताए । उनले भने, ‘यसअघि मागअनुसारको विद्युत् प्रवाह नहुँदा ठूला मेसिनहरू प्रयोगमा आउन सकेका थिएनन् ।’