१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार ११:४९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मिसावट आशंका गरिएको ट्यांकर त्रिशूलीमा खसालेपछि २१ लाख क्षतिपूर्ति असुल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार ११:४९:००

५ महिनाअघि त्रिशूलीमा पेट्रोल बोकेर खसेको ट्यांकरबाट आयल निगमले तेलबराबरको रकमबापत २१ लाख ४० हजार असुल गरेको छ । ४ असोजमा इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट २० हजार लिटर पेट्रोल लिएर निगमको थानकोट डिपोमा आउँदै गरेको ना४ख २८२२ नम्बरको ट्यांकर धादिङको गल्छी नगरपालिका–६, चरौँदीस्थित त्रिशूली नदीमा खसेको थियो । तत्कालीन बजार मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँका दरले ट्यांकरधनी अप्सरा पौडेलबाट क्षतिपूर्तिबापत रकम असुल गरिएको निगम प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

इन्धन ढुवानी गर्ने ट्यांकट्रकलाई नियमन गर्न निगमले बनाएको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३ अनुसार नष्ट भएको सबै परिमाणबराबरको रकम असुल गरेको प्रवक्ता उपाध्यायले बताए । ‘ढुवानीका क्रममा तेल नष्ट भए ट्यांकरधनीबाट भरपाई गर्ने व्यवस्थाअनुसार तेलको परिमाणबराबरको रकम तिराएका हौँ,’ उनले भने ।

सो ट्यांकरको पेट्रोलमा मट्टीतेल मिसाएर ल्याइएको निगमको थानकोट डिपोमा पूर्वसूचना थियो । मिसावटयुक्त पेट्रोल ल्याउने ट्यांकरचालक सुदीप बोहरा र सहचालक मनीष नगरकोटीलाई कारबाही गर्ने पूर्वतयारी हुँदै गर्दा अस्वाभाविक रूपमा सो ट्यांकर त्रिशूली नदीमा खसेको थियो । निगमले कारबाही गर्ने पूर्वजानकारी पाएपछि चालक र सहचालकले जानाजान त्रिशूलीमा ट्यांकर खसालेर कारबाहीबाट जोगिने प्रयास गरेको निगमले आशंका गरेको थियो ।

मट्टीतेल मिसावटको पूर्वसूचना पाएको ट्यांकर त्रिशूली नदीमा खसेपछि थानकोट डिपोले चालक र सहचालकलाई समातेर विस्तृत अध्ययन गर्न धादिङ प्रहरीलाई लिखित जानकारी गरेको थियो । ट्यांकर खसेपछि सम्पर्कविहीन भएका चालक बोहरा र सहचालक नगरकोटीलाई प्रहरीले भोलिपल्ट समातेको थियो । ट्यांकर खसेर पूर्ण क्षति भएको र सबै तेल नष्ट भएको घटनामा चालक र सहचालक भने सामान्य अवस्थामा थिए । जसकारण उनीहरूले जानाजान त्रिशूलीमा ट्यांकर खसालेको आशंकामा थप बल पुगेको थियो ।

प्रहरी अनुसन्धानमा भने उनीहरूले दुर्घटना भएर त्रिशूलीमा ट्यांकर खसेको बयान दिएर उन्मुक्ति पाएका छन् । यद्यपि, धादिङ प्रहरीले ट्यांकरचालक, सहचालक र ट्यांकरधनीविरुद्ध राष्ट्रिय सम्पत्ति हिनामिनाको अभियोगमा मुद्दा दायर गरेको छ । अदालतमा मुद्दा भएकै कारण सो ट्यांकरले यसअघि इन्धन ढुवानी गर्दा पाउनुपर्ने रकमसमेत निकासा गर्न नसकेको थानकोट डिपोले जनाएको छ ।

त्रिशूलीमा खसेर दुर्घटना हुनुअघिसम्म सो ट्यांकरले विभिन्नपटक इन्धन ढुवानी गरेबापत ४३ लाख ५ हजार ९ सय ५१ रुपैयाँ ढुवानी भाडा लिनुपर्ने थियो । सोही ढुवानी भाडाबाट क्षतिपूर्तिबापत २१ लाख ४० हजार रुपैयाँ असुल गरेको र बाँकी रकम अदालतको मुद्दा टुंगोमा पुगेपछि भुक्तानी दिने थानकोट डिपोले जनाएको छ ।

थानकोट डिपो प्रमुख प्रदीप यादवले यो घटनामा प्रचलित बजार मूल्यअनुसार क्षतिपूर्ति तिराउँदा आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन अरू चालकहरूलाई पाठ भएको बताए । ‘यति ठूलो कारबाही भएपछि यस्तै घटना आगामी दिनमा कसैले दोहोर्‍याउने विषयमा कल्पना पनि गर्न सक्दैन,’ यादवले भने, ‘त्यसैले हामीले यसपटक कडाइका साथ विनियमावलीको व्यवस्था कार्यान्वयन गरी क्षतिपूर्ति असुल गरेका हौँ ।’