मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार १०:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर लगानीकर्ताको सम्पत्ति २६ खर्ब नाघ्यो

ठूला व्यवसायीको लगानी व्यवस्थापनमा ब्रोकर लागेको दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार १०:५०:००

साताको अन्तिम दिन बजारमा मूल्य घट्नेभन्दा बढ्ने कम्पनीको संख्यामा वृद्धिसँगै लगानीकर्ताको सम्पत्तिको मूल्य पहिलोपटक २६ खर्ब रुपैयाँ नाघेको छ । लगानीकर्ताको पछिल्लो बजार मूल्यअनुसार कुल सम्पत्तिको मूल्य २६ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो ।

बजारमा केही ब्रोकरले ठूला व्यवसायीहरूकै लगानी व्यवस्थापन गरिदिने गरेकाले पनि बजारमा लगानी अभाव नघटेको एक लगानीकर्ताले बताए । ‘ब्रोकरहरूले केही ठूला व्यवसायीको अर्बौँ रुपैयाँसम्म लगानी व्यवस्थापन गरिदिइरहेका छन्,’ उनले भने, ‘यसले बजारमा पुँजीको अभाव देखिएको छैन, तर यसरी उनीहरूले व्यवस्थापन गर्दा चाहिएको कम्पनीहरूको मूल्य बढाउने र फाइदा उठाउँदै बेच्ने प्रवृत्ति मौलाएको छ ।’

धितोपत्र बोर्डले केही महिनाअघि गरेको अध्ययनले समेत केही कम्पनीहरूको सेयर कारोबारमा कर्नरिङ भइरहेको निष्कर्ष निकालेको थियो । यद्यपि, अध्ययन सार्वजनिक गर्ने र कारोबारको थप अध्ययन भने गरिएन ।बिहीबार भने नेप्से परिसूचक करिब २६ अंकले बढेर हालसम्मकै उच्च बिन्दु २ हजार ६ सय ३६ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका २ सय ६ धितोपत्र तथा ऋणपत्रमध्ये १ सय ३ को मूल्य बढेको, ८४ वटाको मूल्य घटेको छ । बजार उच्च बिन्दुमा पुग्दा लगानीकर्ताले तुलनात्मक रूपमा साना र सस्ता मूल्यका कम्पनीहरू उठाइरहेका छन् । 

यस दिन मूल्य उच्चदरमा वृद्धि भएका २० कम्पनीमा १५ कम्पनी ५ सय रुपैयाँ मूल्यभन्दा कम रेन्जका छन् । कारोबार रकमका आधारमा भने वाणिज्य बैंकहरू अग्रस्थानमा देखिएका छन् । कारोबार रकमका आधारमा अग्र १० मा ७ वटा वाणिज्य बैंक समूहबाट रहेका छन् । यिनको १८ करोडदेखि ५६ करोड रुपैयाँसम्मको कारोबार भएको हो । 

यस दिन कारोबार रकम केही घटे पनि औसतभन्दा माथि नै छ । यस दिन बजारमा कुल ८ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको हो । कारोबारमा आएकामध्ये निर्जीवन, लघुवित्त र जीवन बिमा समूहगत परिसूचकमा मात्रै गिरावट आएको छ । त्यस्तै, साना किसान विकास लघुवित्त कम्पनीले बिक्री नभएको ३ हजार ३ सय ६८ र ९ हजार ७४ कित्ता हकप्रद सेयर बोलकबोल माध्यमबाट लिलामी गर्ने भएको छ । लिलाम बिक्री निष्कासकका रूपमा इन्भेष्टमेन्ट बैंकिङलाई तोकिएको छ ।