१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
विज्ञानराज शर्मा
२o८१ जेठ ५ शनिबार o९:५४:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

स्पेसलाइज्ड प्रहरीको खाँचो

प्रहरीको आधुनिकीकरण एवं क्षमता विकासका लागि भर्ना विधि नै परिमार्जन हुन जरुरी छ, भर्ना प्रक्रिया ‘स्पेसलाइज्ड’ हुनुपर्‍यो

Read Time : > 5 मिनेट
विज्ञानराज शर्मा
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:५४:oo

बैतडी दोगडाकेदार नपा–७ की १८ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भयो । व्यस्त सहरमा होइन, वारदात भएको स्थान गाउँमा हो । निर्मला पन्तको बलात्कारपछि हत्या भयो, त्यसको वारदातस्थल पनि व्यस्त सहर नभई गाउँमा नै थियो । नेपाल प्रहरीको पछिल्ला अपराध तथ्यांक विश्लेषण गर्दा पनि अपराध ग्राफ सहर र गाउँ दुवैमा झन्डै समान गतिमा बढेको देखिन्छ, जुन डरलाग्दो संकेत हो ।

भौतिक प्रकृतिका आधारमा सहर सधैँ व्यस्त रहन्छ । आज चिनिएको मान्छे भोलि नचिनिन पनि सक्छ । आज भएका सरसंगत भोलि काम नलाग्न सक्छन् । तर, गाउँमा त्यस्तो हुँदैन । मान्छेका भेटघाट सीमित दायरामा हुन्छन् । सम्बन्धहरू निर्धारित मात्र होइनन्, परिभाषित नै हुन्छन् । तर, त्यही ठाउँमा जघन्य अपराध भएका छन् । किन यस्तो हुन सक्यो ? यसका पछि छिपेका खास कारण खोजिनु जरुरी छ ।

पछिल्लो समय विश्वलाई मोबाइल संस्कृतिले नराम्रोसँग गाँजेको छ । यसबाट नेपालका सहर मात्र होइन, गाउँसमेत प्रभावित बनेका छन् । मोबाइलमा इन्टरनेट छ, इन्टरनेटमा विश्व । युवा कोठामै बसीबसी विश्वको शयर गर्दै छन् । शयर गर्दा लाभदायक सामग्री भेटाउन जति मुस्किल छ, त्यति नै सजिला छन्, हानिकारक सामग्री भेटाउने कार्य । जसले युवालाई क्षणभरमै अपराधी मात्र होइन, आतंककारी बनाउन सक्छ र बनाइरहेको पनि छ । 

बम बनाउने सूत्र मात्र होइन, अपराध गरेपछि बच्ने उपायसमेत इन्टरनेटले नै सिकाइरहेको छ । बैंक लुट्ने तरिका इन्टरनेटले नै सिकाउँछ । लुटेको रकम छिपाउने तरिका पनि इन्टरनेटले नै सिकाउँछ । एउटा उदाहरण हेरौँ, युवामा अहिले ‘पबजी गेम’ लोकप्रिय छ । कोठामा घन्टौँ बिताउन तयार छन्, यसका अम्मलीहरू । यस्ता खेल सिकेर हुर्किएको युवाको मनोविज्ञान कस्तो बन्ला ? कल्पना गर्दा पनि रौँ ठाडा हुन्छन् । त्यसो हुँदा अपराध अहिले सहरबाट होइन, गाउँबाट पनि होइन, यसको सुरुवात परिवारबाट भइरहेको छ । 

अब यसलाई अनुसन्धान गर्ने प्रहरीको सीप क्षमता (स्किल)तर्फ नियालौँ । निश्चय पनि नेपाल प्रहरीको अनुसन्धान क्षमतामा शंका छैन । किनकि, यसको व्यावसायिकतालाई विश्वले प्रशंसा गरेको छ । ‘हाइटेक’ विधिबाट गरिएका अनुसन्धानपछि नेपाल प्रहरीले कमाएको ख्याति थिए त ती ? निश्चय पनि थिएनन् । ती थिए, सबै ‘म्यानुअल्ली’ अनुसन्धानका परिणाम । तर, नेपाल प्रहरी अब अनुसन्धानका त्यही पुरानो विधिबाट चल्न सक्दैन । अबको अनुसन्धानमा प्रहरीले ‘हाइटेक’ अनुसन्धान विधि अपनाउनैपर्छ । किनकि, अहिले अपराध ‘म्यानुअल्ली’ छैनन्, ‘हाइटेक’ अर्थात् उच्च प्रविधियुक्त छन् । जसको सुरुवात सहर वा गाउँबाट होइन, परिवारभित्रैबाट भएका छन् । 

विश्वका अन्य मुलुकमा उमेरअनुसार हेर्न हुने र नहुने सामग्रीको वर्गीकरण हुन्छ । केटाकेटीका लागि हुने अनलाइन सामग्री युवाका लागि बन्देज लगाइएका हुन्छन् । युवा र वृद्धाले हेर्ने अनलाइन सामग्री केटाकेटीका लागि प्रतिबन्धित छ । तर, नेपालमा त्यस्तो हुन सकेको छैन, न त्यसतर्फ कुनै सोच नै छ ।

सामाजिक सञ्जालको हकमा त झन् भद्रगोल छ । किनकि, भारतमा त्यही सञ्जाल दर्ता भएर चलेका छन् । नेपालमा त्यो पनि हुन सकेको छैन । तर, तिनै सामाजिक सञ्जाल अपराधमा प्रयोग भएका छन् । यसकारण पनि अपराधमा अनुसन्धान गर्न प्रहरीलाई यतिवेला हम्मेहम्मे परेको छ । यस्ता सञ्जाल दर्ताका लागि त राज्यले नै पहल गर्नुपर्ने हो । दुःखद पक्ष के भने त्यो काम हुन सकेको छैन । 

भागरथी हत्या मात्र होइन, पछिल्ला दिन ठूला प्रकृतिका अपराधमा गुणस्तरीय अनुसन्धान हुनै सकेको छैन । प्रहरी संगठनलाई यसैगरी भुत्ते बनाउँदै लैजाँदा मुलुकले थेग्न नसक्ने गरी बढ्दो अपराध नियन्त्रण कसरी हुन सक्छ ? बहस अब यसतर्फ हुन जरुरी छ । 
 

माथिका उदाहरणले अपराध ‘हाइटेक’ बनेको प्रस्ट हुन्छ । तर, अनुसन्धान गर्ने प्रहरी ‘हाइटेक’ बन्न सकेको छ ? उत्तर सहज छ– छैन । तर, अब समयानुकूल बन्न नेपाल प्रहरी हाइटेक नभई हुन्न । यद्यपि, हाइटेक हुन नेपाल प्रहरीको मात्रै प्रयासबाट सम्भव छैन । सिंगो राज्यको प्राथमिकतामा यो पर्नुपर्छ । यसका लागि अध्ययन हुन जरुरी छ । अध्ययनबाट निस्केका निष्कर्षका आधारमा योजना बनाउन जरुरी छ । यसको सुरुवात भने प्रहरी हेडक्वाटरबाटै हुनुपर्छ । किनकि, अपराधको ट्रेन्ड र यसको मनोविज्ञानलाई प्रहरी हेडक्वाटरले नै बुझेको हुन्छ र बुझेको पनि छ । 

अनुसन्धान ‘नाग–पासा’जस्तै हो । कहिले चढेर चरममा पुग्छ, कहिले झरेर शून्यमा आउँछ । अनुसन्धान अधिकृत यही मनोविज्ञानका साथ काम गरिरहेका हुन्छन् । अनुसन्धान अधिकृतमा हुनुपर्ने गुण नै यही हो । ‘हाइटेक’ अपराध अनुसन्धानमा त झन् यो मनोविज्ञान अझ धेरै लागू हुन्छ । यस्ता मनोविज्ञान भएका अनुसन्धान अधिकृत उत्पादन अबको आवश्यकता हो । जसका लागि भर्ना विधि नै परिमार्जन हुन जरुरी छ । 

हामीकहाँ सोलोडोलोमा एकैपटक प्रहरी भर्ना लिने चलन छ । प्रशिक्षण पनि सबैलाई एकैपटक र एउटै दिने चलन छ । हामी त्यही प्रहरी कर्मचारीलाई अनुसन्धानमा खटाउँछौँ । वर्षदिनपछि झिकेर उसैलाई भीड नियन्त्रणमा पठाउँछौँ । बिग्रेको यहीँ छ । यस्तो अवस्थामा ‘स्पेसलाइज्ड क्याडर’ कसरी उत्पादन हुन्छ ? ‘स्पेसलाइज्ड’ बनाउन त एउटै व्यक्तिलाई करिअरभर एउटै पेसामा खटाउनुपर्ने थियो । तर, हामीकहाँ त्यस्तो गरिएको छैन । उदाहरणका लागि, एउटा प्रहरी अधिकृत ‘सार्प सुटर’मा पारंगत छ । उसलाई हठात् सडकमा सिटी फुक्न पठायो भने के हुन्छ ? हामीकहाँ भएको त्यही छ । जसको असर अपराध अनुसन्धानमा परेको छ । 

त्यसो हुँदा अब भर्ना प्रक्रिया नै ‘स्पेसलाइज्ड’ हुनुपर्‍यो । उदाहरणका लागि साइबर अपराध अनुसन्धानका लागि हो भने भर्ना नै त्यसैमा गरिनुपर्‍यो । जघन्य (हिनियस) अपराधमा मान्छे चाहिएको छ भने सिपाहीदेखि अधिकृतसम्मको दरबन्दी सोही पदमा खोलिनुपर्‍यो । उनीहरूको करिअर त्यसैमा विकास गरिनुपर्‍यो । कम्तीमा पनि एसएसपीसम्म उनीहरूको सरुवा गरिनु भएन । डिआइजी वा सोभन्दा माथिको हकमा भने सरुवा गर्दा भयो । यो प्रक्रियाले पेसा ‘स्पेसलाइज्ड’ बन्छ । अनुसन्धानको नतिजा चाँडो आउँछ । यो कार्य प्रहरी प्रधान कार्यालयको मात्रै प्रयासले हुँदैन । यसमा गृह वा बालुवाटार मात्र होइन, प्रणालीका साझेदार सिंगो राजनीतिक दल नै लाग्न आवश्यक छ । 

मुलुकको आन्तरिक मामिलामा शान्ति नछाए विकास असम्भव छ । किनकि, विकास र शान्ति पर्यायवाची हुन् । शान्ति स्थापनाको जिम्मा प्रहरीको मात्रै होइन, समाज र समाजभित्र रहेका विविध अवयवको पनि हो । जसमा नागरिक समाज, राजनीतिक दल, बुद्धिजीवी, विद्यार्थी सबै पर्छन् ।

यसतर्फ माथि उल्लेख सबै पक्षको ध्यान जान नसकेको अवस्थामा मुलुकमा शान्ति छाउँदैन । शान्ति नै नभए विकास कसरी सम्भव हुन्छ ? अफगानिस्तानको उदाहरण यहाँ उपयुक्त हुन्छ, जुन मुलुक लामो समयदेखि गृहयुद्धमा फसेको छ, जहाँ विकासको कल्पना पनि गर्न सकिँदैन । नागरिक भोका छन् । मानव विकास सूचकांक गिरेको छ । प्रतिव्यक्ति आय घटेको छ । यो मुलुक त्यही दिशातर्फ अघि बढे के होला अवस्था ? सोच्दा पनि चक्कर लाग्न सक्छ । 

बैतडी दोगडाकेदार नपा–७ की किशोरी भागरथी भट्ट हत्याको निष्कर्ष अझै आउन सकेको छैन । कञ्चनपुरकी निर्मला पन्त अनुसन्धानको निष्कर्षमा त्यस्तै गोलमाल भयो । घटनामा एकले अनाहकमा ज्यान गुमाए । घटनासँगै जोडेर बबिता भनिने अनिता बम दिदी–बहिनीको हुर्मत काडियो । सतहमा नआएका कतिपय अन्य  घटनामा पनि यस्तै भएका छन् । ती माथि उल्लेखित घटनाका परिणाम त होइनन् ? सोच्नुपर्ने यहाँ छ । 

तर, मैले प्राप्त गरेको सूचनाअनुसार निर्मलाको झैँ भागरथी हत्या घटनाको अनुसन्धानमा लापरबाही भएको छैन, न अनावश्यक मिडियाबाजी नै भएको छ । घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ । वारदातस्थलबाट दसी–प्रमाण संकलन गरेको छ । त्यसलाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले सूचना दिएअनुुसार अनुसन्धान साँघुरो घेरामा पुगेको छ । अपराधी चाँडै पक्राउ पर्ने अपेक्षा गरौँ । 

तर, किटान गरेरै भन्न सकिने पक्ष के छ भने पछिल्ला दिन प्रहरीको अनुसन्धानको क्वालिटीमा ह्रास आएकोचाहिँ पक्का हो । यसो हुनुमा विविध कारण छन् । त्यसमध्ये एउटा हो, मनोबल । उदाहरणका लागि ३३ किलो सुन प्रकरण र निर्मला पन्त बलात्कार घटना नै काफी छन् ।

घटनामा जो प्रहरी अधिकृत दोषी थिए, तिनीहरूलाई कारबाहीको दायरामा ल्याउनु स्वाभाविक नै थियो । यस्तो हुुुनु पनि पर्छ । तर, कतिपय यस्ता प्रहरी अधिकृतमाथि कारबाहीको डन्डा चलाइयो जसको बलमा सिंगो घटना अनुसन्धान भएका थिए । हुँदाहुँदा अनुसन्धानमा संलग्न अधिकारी मात्र होइन, सम्बन्ध नै नभएको परिवारका सदस्यको समेत डिएनए परीक्षण गरिए, जसले जोखिम मोलेर अनुसन्धान गर्ने प्रहरीको रौँ ठाडो बनायो । र, अनुसन्धान गर्ने प्रहरीको मनोबल गिर्‍यो । भागरथी हत्या मात्र होइन, पछिल्ला दिन ठूला प्रकृतिका अपराधमा गुणस्तरीय अनुसन्धान हुनै सकेको छैन । कारण यही त होइन ? प्रहरी संगठनलाई यसैगरी भुत्ते बनाउँदै लैजाँदा मुलुकले थेग्न नसक्ने गरी बढ्दो अपराध नियन्त्रण कसरी हुन सक्छ ? बहस अब यसतर्फ हुन जरुरी छ । 

समयानुकूल हुने वृत्तिविकासले पनि अनुसन्धानको परिणाममा भूमिका खेल्छ । तर, नेपाल प्रहरीमा वृत्तिविकास समयानुकूल छैन । विशेष गरी जुनियर तहका प्रहरी कर्मचारी यसको मारमा छन्, जो नेपाल प्रहरीका दरिला खम्बा हुन् । सूचना उनीहरूसँग छ, अनुसन्धानको सीप उनीहरूसँग छ ।
 

समयानुकूल हुने वृत्तिविकासले पनि अनुसन्धानको परिणाममा भूमिका खेल्छ । तर, नेपाल प्रहरीमा वृत्तिविकास समयानुकूल छैन । विशेष गरी जुनियर तहका प्रहरी कर्मचारी यसको मारमा छन्, जो नेपाल प्रहरीका दरिला खम्बा हुन् । सूचना उनीहरूसँग छन् । अनुसन्धानको स्किल उनीहरूसँग छ । हाकिमले त म्यानेज मात्रै गर्ने हो । तर, हामीकहाँ म्यानेज गर्ने म्यानेजरको नसोचेको गतिमा वृत्तिविकास अघि बढ्छ । जबकि, जो सूचनाका सच्चा स्रोत हुन्, तिनको अवस्था जहाँको तहीँ हुन्छ । अनुसन्धानलाई यस्ता प्रवृत्तिले पनि असर गरेको छ । यसतर्फ गृह वा बालुवाटारले होइन, प्रहरी हेडक्वाटरले ध्यान दिनुपर्छ । किनकि, उनीहरूलाई चिन्ने मात्र होइन, अभिभावकत्व दिने पनि हेडक्वाटर हो, नकि गृह र बालुवाटार । 

अनुसन्धानका विविध पाटा हुन्छन् । यसका लागि सबै पक्षबाट सहयोग लिन जरुरी छ । जुन अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृतले बुझ्न जरुरी छ । त्यसमध्ये एउटा पाटो हो, नागरिक । हामीकहाँ नागरिक तवरबाट सित्तैमा सूचना प्राप्त हुन्छ । त्यही सूचना विदेशमा खरिद गर्नुपर्छ । तर, यहाँ सूचनाका लागि मूल्य चुकाउनु पर्दैन, मात्रै चिने पुग्छ । चिनेपछि टिपे पुग्छ । त्यसका लागि अनुसन्धान अधिकृतको सीप चाहियो । क्षमता मापन यसैमा हो । यसतर्फ अहिलेका अनुसन्धान अधिकृत गएका छन् ? या जान मातहतका निकायले अभिप्रेरित गरेको छ ? यसतर्फ बहस गर्ने कि नगर्ने ? यसका लागि प्रहरी हेडक्वाटर तयार हुनुपर्‍यो । अहिलेको सन्दर्भमा प्रहरी हेडक्वाटर नयाँ ढंगले अघि बढ्नु आवश्यक छ । अहिलेको अपराधशास्त्रलाई गहिराइमा नबुझेसम्म अनुसन्धान फितला नै हुनेछन् । 
(शर्मा नेपाल प्रहरीका पूर्वएआइजी हुन्) 

ad
ad