सडकमा मन्त्रीका गाडीले पनि ट्राफिक नियम पालना गर्ने विषय कस्तो लाग्यो ?
यो कुनै ‘हाइलाइट’ गरिरहनुपर्ने विषय नै होइन । कानुनतः यो ट्राफिक प्रहरीको आफ्नै नियमित काम हो । कुनै पनि कानुन मन्त्री र सर्वसाधारणलाई फरक हुँदैन । कानुन सबैले मान्नैपर्छ । पाँचजना भिभिआइपीबाहेक अन्य सबैले सडक नियम र कानुन मान्नैपर्छ । त्यसैले, ट्राफिक प्रहरीले सुरु गरेको यो व्यवस्था अनौठो होइन ।
यसले ट्राफिक नियम पालनामा केही सकारात्मक प्रभाव पर्ला त ?
झन्डावाल गाडी चढ्ने मन्त्रीहरूले नै ट्राफिक नियम पालना गर्न थाले, लेन अनुशासन पालना गरेर सडकमा लाइनमा बस्न थाले भने पक्कै पनि आमजनमानसमा यसको सकारात्मक सन्देश जान्छ । मन्त्रीहरूले पहिल्यै यसरी बस्नुपथ्र्यो । आमनागरिकमा विश्वास खस्केको समयमा सामान्य नै भए पनि यस्ता प्रयासबाट नेताहरूप्रति सहानुभूति बढ्छ । यसबाट आमजनतामा पनि ट्राफिक नियम पालनामा सचेतना बढ्छ ।
यसअघि भिआइपीहरूले नियम नमानेका हुन् कि ट्राफिक प्रहरीले खुसी पार्न खोजेका हुन् ?
अलिअलि त यो नेताहरूको मिचाहा प्रवृत्ति पनि हो । हामीले जे गरे पनि हुन्छ भन्ने सोचको परिणाम पनि हो यो । कतिपयमा मन्त्री भइसकेपछि हामी आमसर्वसाधारणभन्दा भिन्न हौँ, विशेष हौँ, हामीले नियम मानिरहनुपर्दैन भन्ने सोच पनि हुन्छ । कतिपय मन्त्रीलाई चाहिँ यस विषयमा खासै थाहा हुँदैन । पिएसओले जसरी सवारी चलाउँछन्, उनीहरूले त्यसैलाई मान्छन् । खासगरी मन्त्रीका पिएसओले ट्राफिक प्रहरीलाई हैरान पार्छन् । क्याबिनेट बैठकमा जाँदा वा विपत्को समयमा नियम पालना गर्न नसकिएला पनि । तर, सामान्य अवस्थामा लाइनमा बस्दा मन्त्रीहरूको इज्जत बढ्छ । जनमानसमा सकारात्मक प्रभाव पर्छ ।