मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ २३ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७७ माघ २३ शुक्रबार १o:१५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रसुवामा भूकम्पले भत्काएका  ११ हजार घर निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ २३ शुक्रबार १o:१५:oo

रसुवामा भूकम्पले भत्काएका ११ हजार निजी आवास भूकम्पपीडितले निर्माण सम्पन्न गरेका छन् । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्किएका घरहरूमध्ये ११ हजार दुई सय १७ घर निर्माण सम्पन्न भएको हो । 

१२ हजार आठ सय ७६ लाभग्राही रहेको रसुवामा १२ हजार तीन सय चारजनाले मात्र निजी आवास पुनर्निर्माणको सम्झौता गरेका छन् भने हालसम्म ११ हजार दुई सय १७ जनाले निजी आवास निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रसुवाका प्रमुख विश्वराज मरासिनीले बताए । 

जिल्लाका पाँचवटा गाउँपालिकामध्ये सबैभन्दा बढी नौकुण्ड गाउँपालिकामा घर निर्माण भएको छ भने सबैभन्दा कम आमाछोदिङमाे गाउँपालिकामा रहेको छ । जिल्लाको नौकुण्ड गाउँपालिकामा तीन हजार दुई सय २४, कालिका गाउँपालिकामा दुई हजार पाँच सय चार, उत्तरगया गाउँपालिकामा दुई हजार एक सय दुई, गोसाइँकुण्ड गाउँपालिकामा एक हजार सात सय १७ र आमाछोदिङमो गाउँपालिकामा एक हजार ६ सय ७० गरी ११ हजार दुई सय १७ घर निर्माण सम्पन्न भएको बताइएको छ । 

जिल्लामा हालसम्म १२ हजार दुई सय ८० जनाले पहिलो किस्ताबापतको रकम बुझेका छन् भने ११ हजार सात सय ३७ जनाले दोस्रो र ११ हजार दुई सय १७ जनाले तेस्रो किस्ताबापतको रकम बुझिसकेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ रसुवाले जनाएको छ । 

गैरसरकारी संस्थाले बनाए ९३३ घर 
निजी आवास पुनर्निर्माणका लागि जिल्ला भित्रिएका ६ वटा गैरसरकारी संस्थाले नौ सय ३३ वटा निजी घर निर्माण सम्पन्न गरेका राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रसुवाले जनाएको छ । बतास फाउन्डेसनले जिम्मेवारी पाएको १५२ वटै र ओएम नेपालले जिम्मेवारी पाएको ६ वटै घर निर्माण सम्पन्न गरेका छन् । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीले जिम्मेवारी पाएको चार सय ५४ घरमध्ये चार सय ३८, लुमन्तीले जिम्मेवारी पाएको ३७८ घरमध्ये २४६ र एलडब्लुएफले जिम्मेवारी पाएको १०१ घरमध्ये ९१ घर निर्माण सम्पन्न गरेका छन् । 

अनुदानको साढे तीन अर्ब रकम वितरण
विनाशकारी भूकम्पबाट प्रभावित भएकाको निजी आवास पुनर्निर्माणका लागि रसुवामा साढे तीन अर्ब रकम वितरण भएको छ । विनाशकारी भूकम्प गएको ६ वर्ष पुग्नै लाग्दा अनुदानबापतको तीन अर्ब ४९ करोड ६२ लाख ५० हजार रुपैयाँ रकम वितरण भएको हो । 

पहिलो किस्ताबापतको ५० हजार बुझेका १२ हजार दुई सय ८० जना लाभग्राहीलाई ६१ करोड ४० लाख, दोस्रो किस्ताबापतको एक लाख ५० हजार बुझेका ११ हजार सात सय ३७ जनालाई एक अर्ब ७६ करोड पाँच लाख ५० हजार र तेस्रो किस्ताबापत एक लाख बुझेका ११ हजार दुई सय १७ जनालाई एक अर्ब १२ करोड १७ लाख रकम वितरण भइसकेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रसुवाले जनाएको छ ।