मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ ७ बुधबार २२:२१:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक : नेकपा प्रचण्ड–माधव समूह र विपक्षी दलहरूद्वारा प्रतिनिधिसभा विघटनको विरोध

६ महिनापछि बसेको प्रदेश सभा स्थगित

Read Time : > 1 मिनेट
२०७७ माघ ७ बुधबार २२:२१:००

६ महिनापछि बसेको बागमती प्रदेश सभा सातौँ अधिवेशनको पहिलो बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सत्तापक्षकै प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सर्वत्र चासोका रूपमा लिएको सातौँ अधिवेशन पहिलो बैठकमै स्थगित गरिएको हो । प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव प्रवेशविनै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

गत ८ साउनमा चालू आर्थिक वर्ष ०७७÷७८ को बजेट पारित गरेर स्थगित भएको प्रदेश सभा ६ महिना अवरुद्ध भएको थियो । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको तर्फबाट बोल्ने संसदीय दलका नेताहरूले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटन गरेको भन्दै विरोध जनाएका थिए । तर, उक्त विषयमा मुख्यमन्त्री डोरमणि पौडेलले कुनै प्रतिक्रिया नै जनाएनन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानिया“ले वर्तमान प्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने खेल सुरु गरेको आरोप लगाए । उनले जनताले स्थिर सरकारका लागि दिएको मतको अवमूल्यन भएको दाबी गरे । ‘नेकपाले जनताको मतलाई अपमान गरेको छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि नेकपा अझै पनि नफुटोस् भन्ने हाम्रो सोच हो ।’ 

बानिया“ले कांग्रेस व्यवस्था जोगाउने पक्षमा रहेको पार्टी भएकाले लोकतन्त्र र संघीय व्यवस्थाप्रति वितृष्णा पैदा गराउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले संघीय संसद् विघटन गर्दै यसलाई झन् बढवा दिने काम भएको बताए । उनले जनता, मतदातालाई प्रदेश सभा विघटन होला कि भन्ने चिन्ता रहेको भन्दै संघीय व्यवस्थासहित प्रदेश सभा जोगाउन जस्तोसुकै मूल्य चुकाउन आफूहरू तयार रहेको धारणा राखे ।

बैठकमा नेकपा प्रचण्ड–माधव समूहकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले कानुनी रूपमा नेकपा नफुटे पनि अलग भइसकेको जानकारी गराइन् । उनले पार्टीभित्रको यो समस्यालाई दुर्भाग्यको संज्ञा दिँदै निर्वाचन आयोगमा यो विषय पुगिसकेको बताइन् । उनले प्रचण्ड–माधव समूह प्रतिगमनको विरुद्ध सडकमा उत्रिसकेको बताउँदै जनताले दिएको मतलाई अपमान गर्दै असंवैधानिक कदम चाल्ने ओली प्रतिगमनकारी भएको आरोप लगाइन् । ‘जनतामाझ कसरी मुख देखाउने होला,’ उनले भनिन्, ‘हामी यही चिन्तामा 
छौँ ।’

विवेकशीलका सांसद रमेश पौडेल, नेमकिपाका सांसद सुरेन्द्र गोसाईं, राप्रपाकी सांसद रिता माझी र रिना माझीले अहिलेको सरकारले जनतामा वितृष्णा पैदा गरेको दाबी गरे । 

मुख्यमन्त्री पौडेलले छोटो अवधिमा प्रदेश सरकारले समृद्धि र विकासको काम गरेको दाबी गरे । सरकार ढलाउने खेल सुरुदेखि नै भए पनि संविधानका कारण रोकिएको बताउ“दै उनले बागमती प्रदेश सरकारमा एकै स्वरमा बोल्नेहरू पनि अहिले फरक ढंगले प्रस्तुत हुनुपर्ने धारणा राखे ।