मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
चौरमा बसेर पढ्दै जाजरकोट प्राविधिक शिक्षालयका विद्यार्थी
२०७७ माघ ४ आइतबार ०६:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जाजरकोट प्राविधिक शिक्षालयको बिजोग : कक्षाकोठा र फर्निचर नहुँदा  कार्पेटमा बसेर चौरमा पढाइ

Read Time : > 1 मिनेट
२०७७ माघ ४ आइतबार ०६:२६:००

गाउँमै प्राविधिक शिक्षा प्रदान गर्न तीन वर्षअघि जाजरकोटको भेरी नगरपालिका काफलचौरमा जाजरकोट बहुप्राविधिक शिक्षालय खुलेको थियो । तर, भौतिक पूर्वाधार नहुँदा विद्यार्थीको बिजोग भएको छ । खुला आकाशमै पढाइ भइरहेको छ भने चौरमा बस्ने गरेका छन् । 

तीन वर्षसम्म आवश्यक भौतिक पूर्वाधार तय नहुँदा समस्या भएको शिक्षक र विद्यार्थी बताउँछन् । विद्यार्थी दैनिक खुला आकाशमा कार्पेटमा बसालेर पठनपाठन हुने गरेको छ । शिक्षकले पनि बोर्डलाई बाँसको पोलमा झुन्ड्याएर पढाउने गरेका छन् । 

पानी पर्दा, चर्को घाम लाग्दा तथा हावाहुरी चल्दा पढाइ बन्द हुने गरेको शिक्षालयले जनाएको छ । ‘कुर्सी, बेन्च, दराजलगायत आवश्यक फर्निचर समेत छैनन् । शौचालय र खानेपानीको पनि समस्या छ,’ विद्यार्थी सरस्वती केसीले भनिन्, ‘शिक्षक र विद्यार्थी शौचालयको अभावमा जंगल गएर दिशापिसाब गर्न बाध्यता छ ।’ अहिले चारकोठे कच्ची घर भाडामा लिइएको छ । त्यसमा कार्यालय र आवास सञ्चालन छ । 

कक्षाकोठाविनै शिक्षालयमा डिप्लोमा तहमा वन विज्ञान, पशु विज्ञान र सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ । तीन वर्षअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति पाएको शिक्षालयमा अहिले तीनवटा समूहमा पढाइ भइरहेको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले बताए । ‘पढाइ त सुरु भएको छ, तर भौतिक पूर्वाधार केही छैन,’ ठकुरीले भने । अहिले शिक्षालयमा पहिलो वर्षमा वन विज्ञानमा ३७, सिभिल इन्जिनियरिङमा ४८ र पशु विज्ञानमा २९ जना अध्ययनरत छन् । 

शिक्षालयनजिक पिउनेपानीको पनि व्यवस्था छैन । तीन किलोमिटर टाढाबाट पानी ल्याएर शिक्षालयका शिक्षक तथा विद्यार्थीले पिउने गरेका छन् । अझ विद्यार्थीलाई त वासको समस्या छ । शिक्षालयनजिक गाउँ छैनन् । एक घन्टा हिँडेपछि पुगिने छिप्रेना गाउँमा बस्नुपरिरहेको विद्यार्थीले दुःखेसो गरेका छन् । 

शिक्षाको नाममा २२ रोपनी जग्गा छ । यो पूर्ण सरकारी स्वामित्वको शिक्षालय पनि हो । स्वीकृतिका लागि सबै पहल गरेको भए पनि त्यसपछि सञ्चालनमा कसैले चासो नदिँदा समस्या भएको उनको भनाइ छ । ‘ल्याब, कक्षाकोठा, फर्निचर केही छैन । प्राविधिक विषयहरूको पढाइ चौरमा गर्नुपरिरहेको छ । यो पढाइले विद्यार्थीले कति बुझ्लान्,’ शिक्षालय प्रमुख ठकुरीले गुनासो गरे ।