मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ ३ शनिबार
  • Friday, 11 July, 2025
२o७७ माघ ३ शनिबार २o:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हिउँदयाममा नेपाली पर्वतारोही पहिलोपटक माउन्ट केटुको शिखरमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ ३ शनिबार २o:o३:oo

विश्वकाे सर्वाेच्च शिखर सगरमाथापछिको  दोस्रो उच्च शिखर माउन्ट केटुमा हिउँदे आरोहण पहिलोपटक सफल भएको  छ । नेपाली आरोहण टोलीले पाकिस्तानमा रहेको केटु हिमालको पहिलोपटक हिउँदयाममा आरोहण गर्दै विश्व कीर्तिमानी कायम गरेको हो । नेपाली टोली हिउँदयाममा माउन्ट केटुको शिखरमा यसअघि कुनै पर्वतारोही पुगेका थिएनन् ।

सेभेन समिट ट्रेकिंस्का छाङ दावा शेर्पा नेतृत्वको टोली पाकिस्तानको स्थानीय समयअनुसार ४ बजेर ५८ मिनेटमा केटुको सर्वाेच्च शिखरमा पुगेको थियो । १० जना नेपाली पर्वतारोही केटुको शिखरमा पुगेका हुन् । केटु हिमालको उचाइ ८ हजार ६११ मिटर छ ।

आठ हजार मिटरभन्दा माथिका अन्य हिमालमा आरोहण भए पनि केटुको आरोहण हिउँदयाममा भएको थिएन । ‘यो पर्वतारोहणको इतिहासमा भएको सबैभन्दा ठूलो उपलब्धिमध्येको एक हो’ केटु आरोहणका टोली नेता छाङ दावा शेर्पाले आरोहण भएलगत्तै सामाजिक सञ्चालमा फेसबुकमा लेखेका छन् ।  

माउन्ट केटुको उचाइ आठ हजार ६ सय ११ मिटरमध्ये हिमालको ६ हजार मिटर उचाइसम्म चट्टानी हिमाल छ भने त्यसपछि बाक्लो हिउँ छ । यो शिखर चीन र पाकिस्तान सीमा काराकोरम क्षेत्रमा अवस्थित छ ।

सेभेन समिट ट्रेकिङका तर्फबाट २८ जना शेर्पाहरूको टोली त्यसतर्फ गएको थियो ।  सोही टोलीमा २७ जना विदेशी नागरिक पनि सहभागी थिए । जम्मा  ५५ जनाको टोली बेसक्याम्प पुगेको थियो । ‘यसपटक केटुको शिखरमा पुगिछाड्ने अठोट र विश्वासका साथ आएका छौँ,’ छाङ दावाले आरोहणमा जानुअघि नयाँ पत्रिकासँग भनेका थिए, , ‘ हामी दृढ अठोटसहित आगामी फेब्रुअरी पहिलो सातासम्म आरोहणका लागि तयार भएर गएका छौँ । हामी सफल भयौँ भने नेपालको नाम फेरि एकपटक विश्वमा चम्किने आशा छ ।’

जानकारहरूका अनुसार सगरमाथाभन्दा यो दुई सय ३७ दशमलव ८६ मिटर होचो छ, तर आरोहणका लागि सगरमाथाभन्दा धेरै कठिन छ । ‘पाइला–पाइलामा हिमपहिरोमा परिने जोखिम हुन्छ । आँधीसरि हावा बहन्छ । दैनिक दुईदेखि तीन घन्टा मात्रै आरोहणका लागि सहज हुन्छ, बाँकी समय बाटोभरि हिमपहिरो, हिमआँधी आइरहन्छ,’ छाङ दावाले भने । केटु हिमाललाई किलर माउन्टेन संज्ञा दिइएको छ । २४ पटक सगरमाथा आरोहण गरेका कामिरिता शेर्पाले भन्ने गरेका छन्, ‘केटु हिमाल आरोहण पृथ्वीकै सबैभन्दा कठिन तथा खतरनाक काम हो ।’

माउन्ट केटुको आधार शिविर समुद्री सतहबाट पाँच हजार एक सय १७ मिटर उचाइमा छ । आधार शिविरबाट अगाडि चारवटा क्याम्प पार गर्दै उचाइतर्फ पाइला चाल्नुपर्छ ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसको अर्को वर्ष इटालीका आरोही अकीले कोम्पानियोनी र लिनो लाछिडेल्लीले पहिलोपटक केटु आरोहण गरेका थिए ।

माउन्ट केटु आरोहणमा निस्केको नेपाली टोलीका सदस्यहरूले आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटै शिखर आरोहण गरिसकेका छन् । सन् २०१२, २०१४, २०१८ र २०१९ मा छाङ दावाकै नेतृत्वमा गृष्म ऋतुमा केटुको पनि सफल आरोहण भएको थियो ।