मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २८ मंगलबार
  • Monday, 16 December, 2024
२o७७ पौष २८ मंगलबार १८:oo:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनबाट ल्याएको ६ करोडको पिसिआर परीक्षण किट खेर जाँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २८ मंगलबार १८:oo:oo

कोरोना भाइरसको परीक्षणका लागि नेपाली सेनाले चीनबाट जिटुजीमार्फत खरिद गरेको ६ करोडको आरटी–पिसिआर परीक्षण किट खेर जाने अवस्थामा पुगेको छ । अहिलेसम्म प्रयोगमा नआएको किट अब कोरोना परीक्षणमा एन्टिजेनको प्रयोग हुन थालेपछि गोदाममै थन्किने भएको हो । 

कोरोना परीक्षणका लागि ओम्नीले ल्याएका परीक्षण सामग्रीमा अनियमितता भएपछि सरकारले सेनालाई जिम्मा दिएको थियो । सेनाले कोरोना भाइरस संक्रमित पत्ता लगाउन प्रयोग गरिने आरटी–पिसिआर परीक्षणका पिसिआर किट, भिटिएम र आरएनए एक्स्ट्रयाक्सन किट ल्याएको थियो । चीनबाट असारमा ६ करोडमा ती सामग्री खरिद गरिएको थियो । 

भिटिएम र आरएनए एक्स्ट्रयाक्सन किट त देशभरका प्रयोगशालाबाट अयोग्य ठहर गरेर फिर्ता पठाइएको थियो भने पिसिआर किट अझै बाँकी नै छन् । देशभरका कुनै पनि प्रयोगशालामा भिटिएम र आरएनए एक्स्ट्रयाक्सन किट प्रयोग नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले जनाएको छ । 
त्यतिवेला सेनाले चीनबाट जिटुजीमार्फत २८ हजार आरटी–पिसिआर किट खरिद गरेको थियो । राजनीतिक दबाबमा स्वास्थ्य सेवा विभागले ती किट देशभरका प्रयोगशालामा पठाएको थियो । किटले कुनै पनि प्रयोगशालामा काम दिएन । वीर, पाटन, धुलिखेल अस्पताल, प्रदेश २ र अन्य केही प्रयोगशालामा ती किटबाट परीक्षण गर्दा रिपोर्ट बिग्रिएपछि देशभर प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । ती किट पनि प्रयोगमा नआई भण्डारणमै थन्किएका छन् । 

त्यस्तै, व्यवस्थापन महाशाखाका अनुसार देशभर पठाएर पनि अझै भण्डारणमा १४ हजार तीन सय ५२ वटा आरएनए एक्स्ट्रयाक्सन किट र १६ हजार पाँच सय ८४ भिटिएम मौज्दात छन् । महाशाखाका एक अधिकारीले भने, ‘हामीले किट आएलगत्तै असारमा केही अस्पताललाई पठाएका थियौँ । परीक्षणका क्रममा समस्या देखिएपछि ती किटबाट परीक्षण रोकियो । अहिले चीनबाट सेनाले ल्याएको किटको माग नभएका कारण वितरण गरिएको छैन ।’ 

अहिले सरकारले आरटी–पिसिआर परीक्षण नगर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ । त्यस्तै, एन्टिजेनको प्रयोग गर्न परिपत्र गरेको छ र देशभरका अस्पतालमा एन्टिजेनको प्रयोग हुन थालेको छ । ‘एन्टिजेन परीक्षण गर्न थालेपछि अब त झन् यो किट प्रयोगमा आउँदैन,’ ती कर्मचारीले भने । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि पिसिआर परीक्षण आवश्यक नभएको बताए । उनले पिसिआर र एन्टिजेनको प्रभावकारिता उस्ताउस्तै रहेकाले अब सबैको परीक्षण एन्टिजेनमार्फत हुने बताए । ‘एन्टिजेनमा नेगेटिभ भएको, तर कोभिडको लक्षण भएका व्यक्तिमा मात्रै आरटी–पिसिआर परीक्षण गरिनेछ,’ प्रवक्ता डा. गौतमले भने । 

सेनाले खरिद गरेका मात्रै होइन, चीनको तिब्बत सरकारले अनुदानमा दिएका किट पनि भण्डारणमै थन्किएका छन् । वैशाखमा तिब्बत सरकारले ३० हजार किट अनुदानमा दिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार प्रयोगशालामा नमिलेर यी किटहरू प्रयोगमा ल्याउन सकिएको छैन । 

यससँगै ओम्नीले ल्याएका पोर्टेबल मेसिन पनि प्रयोगमा आएका छैनन् । ओम्नीले एक करोड २५ लाख ९४ हजारमा पाँचवटा मेसिन ल्याएको थियो । पाँचवटै मेसिन बिग्रिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसकारण आएन किट प्रयोगमा
कुनै पनि व्यक्तिको स्वाबको नमुना निकालेर राख्ने भाँडोलाई भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडियम) भनिन्छ । भिटिएममा संकलित स्वाबको नमुनालाई केमिकलमा घोलिन्छ । कोरोना भाइरस पत्रपत्रभित्र लुकेको हुन्छ । पत्र फुटाएर भाइरसलाई बाहिर निकाल्न आरएनए एक्स्ट्रयाक्सन किट चाहिन्छ ।

यसरी निकालिएको आरएनए कोरोना भाइरसको ‘आरएनए’ हो कि होइन भनेर थाहा पाउन पिसिआर किट चाहिन्छ । पिसिआरले एउटा सानो जीवाणुलाई लाखौँमा फोटोकपी गरेर देखाउँछ, जसको आधारमा भाइरस छ कि छैन, प्रस्ट देख्न सकिन्छ । त्यसैले भिटिएम, आरएनए एक्स्ट्रयाक्सन किट र पिसिआर एउटै प्रक्रियाका लागि आवश्यक तीन सामग्री हुन् ।

कोरोना परीक्षणका लागि नमुना संकलन गर्दा ‘वान एमएल’ र ‘थ्री एमएल’का भिटिएम प्रयोग हुन्छन् । अहिले नेपालमा ‘थ्री एमएल’का भिटिएममार्फत स्वाब संकलन हुँदै आएको छ । सेनाले ल्याएको किट ‘वान एमएल’ भिटिएममा मात्रै प्रयोग हुन्छ । ‘नेपालमा थ्री एमएलको भिटिएममा संकलन भएको स्वाबबाट कोरानाको पिसिआर परीक्षण भइरहेको छ, तर सेनाले खरिद गरेको आरएनए एक्स्ट्रयाक्सन किटले एक एमएलको भिटिएमसँग मात्रै मेल खाँदो रहेछ,’ प्रयोगशालाका एक कर्मचारीले भने । 

स्वास्थ्य मन्त्रालयका अनुसार सेनाले ल्याएको किट सानस्योर बायोटेक कम्पनीको हो । यो किटका लागि त्यही कम्पनीको मात्र भिटिएम प्रयोग हुन्छ । ‘सेनाले ल्याएको किटले सोही कम्पनीको भिटिएममा मात्र सपोर्ट गर्छ, अरू भिटिएममा प्रयोग गर्दा गलत रिपोर्ट दिन्छ । अहिले देशभर अन्य थरीका भिटिएम प्रयोग भएका छन्, त्यो कम्पनीको छैन । त्यसैले सेनाले ल्याएको किट प्रयोग भएको छैन,’ ती कर्मचारीले भने । सेनाले ल्याएका जस्तै चीनको तिब्बत सरकारले दिएका किट पनि ‘वान एमएल’ पद्धतिको भएकाले प्रयोगमा आएका छैनन् । 

सेनाले ल्याएका सामग्री पनि गुणस्तरीय नहुँदा प्रयोग नभएको भन्ने आरोप लागेको छ । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा गुणस्तरभन्दा पनि प्रयोगशालामा नमिलेकाले प्रयोगमा नआएको बताउँछिन् । ‘सेनाले ल्याएको आरएनए एक्स्ट्रयाक्सन किट प्रयोग गर्ने पद्धति हामीसँग मिल्दैन,’ निर्देशक डा. झाले भनिन्, ‘प्रयोगशालामा नमिल्ने भएका कारण आरएनए एक्स्ट्रयाक्सन किट प्रयोगमै ल्याउन सकिएन । तर, सेनाले ल्याएको पिसिआर किट भने प्रयोग गरिएको छ ।’