मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २८ मंगलबार
  • Monday, 16 December, 2024
२o७७ पौष २८ मंगलबार o६:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसुवा भन्सारमा राजस्व संकलन काउन्टर स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २८ मंगलबार o६:५५:oo

रसुवा भन्सार कार्यालय टिमुरेमा बैंक अफ काठमाण्डूको राजस्व संकलन काउन्टर स्थापना भएको छ । कार्यालयबाट हुने व्यापार सहजीकरणका लागि कार्यालय हाताभित्रै बैंक अफ काठमाण्डूको राजस्व संकलन काउन्टर स्थापना भएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए ।  

रसुवा भन्सारमा दैनिक २५ लाखदेखि डेढ करोडसम्म राजस्व संकलन भइरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा राजस्व असुलीमा असर देखिएको छ । रसुवागढी नाकाबाट आयात–निर्यात सहज बन्न नसक्दा कार्यालयले लक्ष्यको तुलनामा निकै कम राजस्व संकलन भएको छ ।

नाकामा सहज रूपमा आयात–निर्यात नहुँदा रसुवा भन्सारको राजस्व असुलीको लक्ष्य भेट्न हम्मे–हम्मे भएको छ । चीनले अहिले दैनिक आफ्ना ५ वटा गाडीमा नेपाली भूभागमा सामान झारिदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । 

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क, भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, जलविद्युत् आयोजनालगायतका सामग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।

०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो, तर रसुवागढी नाका ०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट ०७२ मंसिरदेखि हुँदै आएको छ ।