१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २६ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २६ आइतबार २o:५७:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगम ५१औँ वर्षमा, देशभर पेट्रोलियम पूर्वाधार निर्माण अघि बढाउने प्रतिबद्धता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २६ आइतबार २o:५७:oo

नेपाल आयल निगमले आइतबार स्थापनाको ५१औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिकोत्सवमा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पूर्वाधारका क्षेत्रमा भएका कामलाई निरन्तरता दिएर टुंगाेमा पुर्‍याउने बताए ।

डेढ वर्षअघिबाट सञ्चालनमा आएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट चाँडै पेट्रोल आयात थाल्ने उनले जानकारी दिए । हालसम्म यो पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको छ । २४सै घन्टा सञ्चालन हुनुपर्ने पाइपबाट डिजेल मात्र ल्याउने हुँदा सातामा तीन दिन आपूर्ति बन्द हुने गरेको छ । पेट्रोल आयात सुचारु भए पाइपलाइन साताभरि सञ्चालन गरी अधिकतम लाभ लिन सकिने सकिने पौडेलले बताए ।

त्यस्तै अमलेखगञ्जमा पाइपलाइनको दोस्रो चरणअन्तर्गत पेट्रोलको भण्डारणगृह बनाउने, डिपो विस्तार गरी लोड–अनलोड सेड स्थानान्तरणलगायतका काम अघि बढाउनले उनले बताए । पूर्व झापामा पेट्रोलियम तथा ग्यास भण्डारण, धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माण, चितवनको लोथरमा सबैभन्दा ठूलो क्षमताको पेट्रोलियम भण्डारणगृह निर्माण, पोखरामा भर्टिकल ट्यांक निर्माण, पोखरा र भैरहवाको विमानस्थलमा हवाई इन्धन भण्डारणगृह निर्माण हुँदै नेपालगञ्जमा नमुना पेट्रोल पम्प निर्माणसम्मको काम अघि बढाइएको उनले बताए ।

‘हामीले थालेका कामलाई टुंगाेमा पुर्‍याउने गरी अघि बढ्ने यो अवसरमा प्रतिबद्धता जनाउँछु,’ पौडेलले भने, ‘पूर्व मेचीदेखि पश्चिम धनगढीसम्म पूर्वाधार विस्तारका लागि बनाइएको योजनालाई कार्यान्वयन गर्ने वर्षका रूपमा आगामी दिनलाई लिनेछौँ ।’ कैलालीमा पेट्रोलियम भण्डारणगृह निर्माणका लागि जग्गाको पहिचान गर्ने काम अघि बढाइरहेको उनले बताए ।

पछिल्लो दुई वर्षमा इन्धन अभाव हुन नदिएको बताउँदै उनले उपभोक्तामुखी सेवालाई प्राथमिकता दिएको बताए । उनले विश्वले अंगालेको नवीन प्रविधिको हाइड्रोजन इन्धन उत्पादनका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको पनि जानकारी दिए ।

त्यस्तै इन्धन चुहावटमा संलग्नलाई कारबाही गरी नियन्त्रणको प्रयास गरेको र पछिल्लो समय इन्धन चुहावट लक्षित नोक्सानी दरभन्दा तल नै राख्न सफल भएको उनले दाबी गरे । उनले तेल बोक्ने टैंक, ट्रकमा मेकानिकल लक लगाई चोरी घटनालाई कम गर्ने योजना बनाएको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भर्चुअल सम्बोधन गर्दै राष्ट्रको हितलाई ध्यानमा राखेर पेट्रोलियम कारोबार गर्न निर्देशन दिए । उनले पेट्रोलियम पूर्वाधार निर्माणका क्षेत्रमा अघि बढाएको परियोजना कार्यान्वयन गर्न सबै कर्मचारी अनुशासित भएर खट्न सुझाब दिएका थिए ।

‘आयल निगमले पेट्रोलियम पदार्थको निरन्तर आपूर्ति गरेर देश विकासका लागि बनेका ठूला र गौरवका आयोजना निर्माणमा  ठूलो सहयोग गरेको छ,’ उनले भने । कार्यक्रममा निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले पेट्रोलियम पदार्थको गुणस्तरीयतालाई मुख्य ध्यान दिएर कारोबार गरिरहेको बताए ।

उनले निगमको डिपो सुधार गर्ने र भण्डारण क्षमता वृद्धि गर्ने काममा अघि बढेको बताए । ‘कोभिड– १९ का वेला अचालन लकडाउन भएको समयमा पनि खाना पकाउने ग्यासलगायतको आपूर्तिमा हामीले सहजता दिलाउन सक्यौँ, यसलाई उपलब्धि मानेका छौँ,’ उनले भने ।

पेट्रोलियम पदार्थमा चर्को नाफा राखेर अन्तर्राष्ट्रिय बजारअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्ने गरेको आरोपलाई उनले बचाउ गरेका छन् । ‘पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि सुरु गरेको स्वचालित मूल्य प्रणालीले राम्रो काम गरेको मैले महसुस गरेको छु,’ उनले भने । आपूर्ति व्यवस्था थप सहज बनाउन आयल निगम आफैँले ग्यासको कारोबार गर्न लागेको उनले बताए । सरकारको नीति तथा कार्यक्रममा समावेश भएका पेट्रोलियम पूर्वाधारसम्बन्धी सबै काम अघि बढाएको उनले जानकारी दिए ।

समयअगावै पाइपलाइन निर्माण टुंग्याउने यादव पुरस्कृत

आयल निगमले ५१औँ वार्षिकोत्सवमा सबैभन्दा महत्वपूर्ण ‘सुवर्णशमशेर पुरस्कार’बाट इन्जिनियर प्रदीप यादवलाई सम्मान गरेको छ । उनले निगमको २ नम्बर प्रादेशिक कार्यालय, अमलेखगञ्जमा रहेर मोतिहारी–अमलखेगञ्ज पेट्रोलियम पाइपलाइन समयअगावै निर्माण टुंगाे लगाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

निर्माण अवधि ३० महिना रहेको पाइपलाइन परियोजना १८ महिनामै टुंग्याइएकाे थियो । पाइपलाइनबाट डेढ वर्षयता निर्वाध रूपमा डिजेल आयात भइरहेको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पाइपलाइन परियोजना निर्माणमा देखाएको कुशलताको मूल्यांकन गर्दै यादवलाई सम्मान गरेको बताए । यादव हाल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट प्रमुखका रूपमा कार्यरत छन् । यहाँ रहँदा पनि पछिल्लो एक वर्षमा उनले डिपो सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको पौडेलले बताए ।