मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २१ मंगलबार
  • Tuesday, 17 December, 2024
नीलेश मिश्रा
२o७७ पौष २१ मंगलबार o९:५५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बालबालिका र कोडिङ 

Read Time : > 2 मिनेट
नीलेश मिश्रा
नयाँ पत्रिका
२o७७ पौष २१ मंगलबार o९:५५:oo

म एक अभिभावक हुँ र मैले आफ्नो गच्छेले सक्ने एउटा सानो विद्रोह गरेँ । मैले मेरो पाँच वर्षकी छोरी वैदेहीलाई लखनउको उनको विद्यालयबाट निकालेँ । भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघिसक्यो र विद्यालयले मार्चदेखि नै अनलाइन कक्षा पढाइरहेका छन् । छोरीको विद्यालयले पनि आफ्ना ११० विद्यार्थीका लागि अनलाइन कक्षाको व्यवस्था गरेको थियो । प्रत्येक कक्षाअघि सबैजना युनिफर्म लगाएर आफ्नो कम्प्युटर स्क्रिनअघि उभिनुपथ्र्यो । सहरको सबैभन्दा प्रतिष्ठित विद्यालयबाट आखिर मैले छोरीलाई किन निकालेँ ? केही महिनाअघिको एक प्रसंगले मलाई घचघच्याइरहेको थियो । एकजना शिक्षकले वैदेहीको कक्षाको एक घटनाबारे एउटा नोट पठाएका थिए जसमा भनिएको थियो, ‘अभिभावकले घरमा बच्चीमाथि बढी ध्यान दिनुपर्ने देखिन्छ । वैदेहीले उनको आर्ट क्लासमा धेरै रङ भएको जिराफ बनाइन् ।’ 

मेरी छोरीमा तीन वर्षको उमेरदेखि कथावाचकको प्रतिभा देखिएको थियो । उनी गाउँको घरमा चन्दा नामक गाई र र्‍याम्बो नामक बाछोसँग कुराकानी गर्छिन् । उनलाई हिलोमा लडिबुडी गर्न र पानीमा भिज्न मन लाग्छ । छोरी यस्तो स्वच्छन्द हुन रुचाउने छे, उता विद्यालयका शिक्षक भने विद्यार्थीको विशिष्ट गुण पहिचान गर्नेभन्दा सबैलाई एउटै साँचोमा ढाल्न लागिरहेको देखिन्थ्यो । 

कोरोना भाइरसको आगमनपछि छोरी उसको अनलाइन कक्षामा व्यस्त रहँदाकै कुरा हो, भारतीय उद्यमी करण बजाजले उनको कम्पनी ह्वाइटह्याट जुनियर बाइजुलाई बेचे । बाइजु विश्वको सबैभन्दा ठूलो शिक्षासम्बन्धी प्रविधि कम्पनी हो । भारत र अमेरिकामा सञ्चालनमा रहेको ह्वाइटह्याट जुनियरले त्यसपछि भारतमा आक्रामक विज्ञापन अभियान सुरु गर्‍यो । तिनमा बालबालिकालाई ४, ५ वा ६ वर्षदेखि नै कोडिङ सिकाउनुपर्ने सन्देश प्रवाहित भइरहेका थिए । स्पष्ट छ, यो विज्ञापनको निसानामा सो उमेरसमूहका अभिभावक थिए । कोडिङ नसिक्ने बालबालिका जीवनमा पछि पर्ने विज्ञापनको सार देखिन्छ र यी विज्ञापनमा भारतीय चलचित्र क्षेत्रका ठूला नामसमेत जोडिएको देखिन्छ । 

भारतमा बालबालिकालाई सानैबाट कोडिङ सिकाउने नयाँ लहर चलेको छ । अभिभावकहरूमा आफ्ना सन्तानलाई यो नयाँ सीप सिकाइएन भने उनीहरू पछि पर्ने डर रोपिँदै छ । 

भारतमा विज्ञापनको गुणस्तर जाँच गर्ने परिषद्को अनुगमनमा ह्वाइटह्याट जुनियरका पाँच विज्ञापनले केही नियम उल्लंघन गरेको पाइएको थियो । त्यस्ता विज्ञापन ह्वाइटह्याट जुनियरले हटाएको छ, तर अन्य धेरै विज्ञापन अझै पनि चलिरहेका छन् । यस्तै, एक विज्ञापनमा चर्चित अभिनेता ऋतिक रोशनले एक टिभी विज्ञापनमा आजका भारतीय बालबालिकाले जुन सीप सिकिरहेका छन्, त्यसको उपयोगितामा चिन्ता व्यक्त गरेको देखिन्छ । यति चिन्तापछि उनी ह्वाइटह्याट जुनियरमा कोडिङ सिक्दाका फाइदा र सम्भावनाबारे बताउन थाल्छन् । कैयौँ विज्ञले बालबालिकालाई कोडिङ सिकाउन आवश्यक नरहेको सुझाब दिएका छन् । कोडिङ सीप केही समयपछि काम नलाग्ने हुने विज्ञको प्रक्षेपण छ । अधिकांश अभिभावक आफ्ना बालबालिका भविष्यमा पछि पर्लान् कि भनेर चिन्तित हुन्छन् । ह्वाइटह्याट जुनियरको विज्ञापन अभियानले अभिभावकको यही डरलाई उपभोग गर्ने प्रयास गरेको छ । 

भारतमा बेरोजगारी सधैँ नै ठूलो चिन्ताको विषय रहँदै आएको छ । अभिभावकले विगतदेखि नै आफ्ना बालबालिकाको इच्छा र क्षमतालाई बेवास्ता गर्दै डाक्टर वा इन्जिनियर वा म्यानेजमेन्ट पढ्न दबाब दिने गरेका छन् । यी विषयका डिग्रीविना जीवनमा असफलता सुनिश्चित भएको तिनको बुझाइ देखिन्छ । ह्वाइटह्याट जुनियरका संस्थापक बजाजले आफैँले पनि भारतीय कलेजमा इन्जिनियरिङ र म्यानेजमेन्ट पढेका थिए । उनी त्यो पुस्ताका उत्पादन हुन्, जब अभिभावक आफ्ना बालबच्चालाई इन्जिनियर तथा चिकित्सक पढाउन गरगहना तथा जमिन बेच्थे । तर, पछिल्लो समय इन्जिनियर तथा चिकित्सकहरू सबैले रोजगार पाइरहेका छैनन् । 

आक्रामक विज्ञापन अभियानले भारतीय अभिभावकलाई कोडिङ अत्यावश्यक हुने भान पारिरहेका छन् । विज्ञापन भन्छ, कोडिङ गर्दा बालबालिकाको दिमागी विकासमा सहयोग पुग्छ । तर, कथावाचनले पनि बालबालिकाको दिमागमा त्यही काम गर्छ, र गायनले पनि । प्रश्न गर्ने वा विभिन्न रोचक स्थानको भ्रमणले पनि बालबच्चाको दिमागलाई विस्तार गर्न सघाउँछ । 

अहिले भारतमा कोडिङलाई अँगाल्न जसरी आक्रामक अभियान चलिरहेको छ, यसबाट खासमा कर्पोरेटहरूको टार्गेट मात्र भेटिनेछ । चलाखीपूर्ण रूपमा भइरहेको विज्ञापन अभियान बुझ्न अभिभावक असमर्थ भइरहेछन् । मैले भने आफ्नी छोरीको विद्यालयमा भएको अभिभावक–शिक्षक भेलामा आफ्नो विरोध जनाएँ । विद्यालयले पठाएको नोटमा प्रतिप्रश्न गर्दै मैले सोधेको थिएँ, ‘जिराफ किन धेरै रङको हुन सक्दैन ।’ मेरो प्रश्नको चित्तबुझ्दो जवाफ त आएन । तर, त्यो क्षण मलाई हामीले छोरीका लागि कल्पना गरेको शिक्षा र विद्यालयले उनलाई दिइरहेको शिक्षाबीचको द्वन्द्व प्रस्ट भयो । 

वैदेहीको नयाँ विद्यालयमा स्क्रिन समय उल्लेख्य कम छ । जब उनी अनलाइन हुन्छिन्, उनी आफ्नो सहपाठीहरूलाई कथा भन्न रुचाउँछिन्, अन्य बालबालिकाका लागि गीत गाउँछिन् र शिक्षकबाट डान्सको स्टेप सिक्छिन् । उनी आफूले मन परेको कार्य गर्न पाउँदा उल्लेख्य खुसी देखिन्छन् । हाम्रो विश्व नचिनिने गरी बदलिनेवाला छ । रोबोटिक्स, एआई तथा भर्चुअल रियालिटीको अवधारणा व्यापक भएर आमजीवनको हिस्सा हुनेछ । यो भविष्यप्रति हाम्रा बालबालिका उत्साहित हुनुपर्छ, भयभीत होइन । भविष्यमा कम्प्युटरअघि घोप्टी बस्नेहरूको मात्र होइन, स्वप्नदर्शीहरूका लागि पनि ठाउँ हुनुपर्छ । तिनको पनि सुवर्ण स्थान हुनेछ भन्नेमा म ढुक्क छु । 

नीलेश मिश्रा लेखक तथा अडियो कथावाचक हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य