अंग्रेजी नयाँ वर्ष २०२१ मनाउनका लागि घलेगाउँ आएका आन्तरिक पर्यटकले होमस्टे भरिभराउ भएका छन् । अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर आएका हुन् ।
विदेशी पर्यटकको नयाँ वर्ष मनाउने गन्तव्यस्थल पनि होमस्टे नै बनेको छ । तर, यस वर्ष कोरोनाका कारण विदेशी पर्यटक भने घलेगाउँ आएनन् ।
सार्कराष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँ होमस्टेमा यतिवेला अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले होमस्टेमा रौनकता छाएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताए ।
‘नयाँ वर्ष मनाउनका लागि समूह-समूह बनेर होमस्टेमा पर्यटक आएका छन् । घलेगाउँमा दुई सयभन्दा बढी पर्यटक आएको घलेगाउँ पर्यटन व्यावस्थापन कार्यालय सचिव दीर्घ घलेले जानकारी दिए ।
घलेगाउँमा पर्यटकको ओइरो
घलेगाउँमा यतिवेला पर्यटकको ओइरो लागेको छ । गाउँमा पर्यटकको चाप बढेर भ्याइनभ्याई भए पनि कोरोनाका कारण लामो समयपछि पर्यटक आउँदा गाउँलेहरू औधी खुसी भएका छन् ।
दैनिक पर्यटकको चहलपहल हुने गाउँहरूमा अग्रेजी नयाँ वर्षको अवसरमा थप पर्यटकहरू आएका हुन् । पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको होमस्टे सञ्चालक विष्णुमाया गुरुङले बताइन् ।
‘कुनै घर पनि खाली छैन, हामीलाई भ्याइनभ्याई भएको छ, उनले भनिन्, ‘राति बास बस्न नपाउनेहरू दिनभर घुमेर फर्केका छन्, नयाँ वर्षको दिनमा दुई सयभन्दा बढी पर्यटक गाउँ भित्रिए ।’
घलेगाउँसँगै मर्स्याङ्दी गाउँपालिकाको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनसहित जिल्लाका होमस्टे गाउँमा पनि पर्यटकको ओइरो लागेको स्थानीयले बताएका छन् ।