
न्युयोर्कस्थित कार्यालय रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) का अनुसार सन् २०२० मा विश्वभर कम्तीमा २१ जना पत्रकारले कामको सिलसिलामा ज्यान गुमाएका छन् । यसअघि सन् २०१९ मा यसरी नै ज्यान गुमाउने पत्रकार १० जना थिए ।
सिपिजेका अनुसार यस वर्ष मेक्सिको, अफगानिस्तान र फिलिपिन्स पत्रकारहरूका लागि सबैभन्दा जोखिमपूर्ण स्थल बने । यसमध्ये पनि मेक्सिकोमा पत्रकारहरूले सबैभन्दा धेरै जोखिम मोलेको बताइएको छ । यसपछि अफगानिस्तान र फिलिपिन्स रहेका छन् ।
कमिटीका अनुसार १५ डिसेम्बर २०२० सम्ममा विश्वभर कम्तीमा ३० जना पत्रकारको हत्या भएको छ । अघिल्लो वर्ष २६ जनाको हत्या भएको उल्लेख छ । यसमध्ये पत्रकारिता गरेकै कारण कम्तीमा २१ जनाको ज्यान गएको कमिटीको ठहर छ ।
सिपिजेले ज्यान गुमाएका अन्य १५ जना पत्रकारको अनुसन्धान जाारी रहेको पनि जनाएको छ । जो कामकै सिलसिलामा मारिएका थिए ।
मेक्सिकोमा मात्रै यस वर्ष कम्तीमा चारजना पत्रकारको हत्या भएको छ । अर्का पत्रकारलाई पनि घटनास्थलको तस्बिर खिच्ने क्रममा गोली हानी हत्या गरिएको थियो । चारजना सहकर्मीको हत्याबारे खोजी गरिरहेको पत्रकारलाई पनि अपराधीहरूले मारिदिएको कमिटीको भनाइ छ । अन्य पत्रकारसम्बन्धी संस्थाहरूले मेक्सिकोमा मात्रै यस वर्ष ११ जना पत्रकारको हत्या भएको बताइरहेका छन् ।
स्थानीय पत्रकारहरूका अनुसार यहाँको पश्चिमी क्षेत्र पत्रकारहरूका लागि अत्यन्तै जोखिमपूर्ण स्थल हो । यहाँ मादक पदार्थ तस्कर, भ्रष्ट कर्मचारी तथा आपराधिक क्रियाकलामा संलग्नहरूको बाहुल्य छ ।
यस्तै, यस वर्ष अफगानिस्तानमा कम्तीमा चारजना पत्रकारको हत्या भएको छ । यहाँको आतंककारी समूहले कामकै सिलसिलामा रहेका ती पत्रकारको हत्या गरेको कमिटीको भनाइ छ । फिलिपिन्समा भने यस वर्ष कम्तीमा तीनजना पत्रकारको हत्या भएको कमिटीको दाबी छ । उनीहरू सबै कामकै सिलसिलामा थिए ।