पूर्वप्रहरी अधिकारीले राष्ट्रिय सुरक्षासँग जोडिएका सुरक्षा संगठन र प्रहरी प्रमुखलाई संसदीय समितिमा बोलाउँदा पदीय गरिमा राख्न आग्रह गरेका छन्। पूर्वप्रहरीका चार संगठन तथा संस्थाले शुक्रबार संयुक्त बिज्ञप्ति जारी गरी बुधबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा गृहसचिव तथा प्रहरी प्रमुखमाथि भएको अमर्यादित व्यवहारप्रति ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा त्यस्तो व्यवहार नदोहो¥याउन आग्रह गरेका छन्।
नेपाल पूर्वप्रहरी संगठन, पूर्वप्रहरी कर्मचारी परिषद्, पूर्वसशस्त्र प्रहरी संघ र सुरक्षा तथा न्याय अध्ययन केन्द्रले संयुक्त बिज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले सुरक्षाकर्मीको मनोबल खस्कने र राष्ट्रिय सुरक्षामै असर पर्ने उल्लेख छ ।
‘अतः हामी गृह मन्त्रालय, संघीय संसद र सम्बद्ध सबै सरोकारवाला निकायहरुसँग् माग गर्दछौं कि आगामी दिनमा राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील संगठन र यसका प्रमुखहरुलाई संसदीय समितिमा बोलाउँदा उहाँहरुको पदीय गरिमा, सम्मान र व्यावसायिक मर्यादा कायम राखियोस्,’ बिज्ञप्तिमा भनिएको छ,‘साथै, माननीय सांसद खगेन्द्र सुनारज्यूलाई आफ्नो अमर्यादित व्यवहार सच्याउन र राष्ट्रको सुरक्षामा अहोरात्र खटिने संगठनहरुको मानमर्दन हुने कार्य तत्काल रोक्न हार्दिक आग्रह गर्दछौं ।’
बुधबारको लेखा समिति बैठकमा रास्वपाका सांसद सुनारले पोशाक खरिदका विषयमा प्रहरीप्रमुखलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने भन्दै अमार्यादित शैलीमा प्रस्तुत भएको भन्दै आलोचना भइरहेको छ।
