साउनको अन्तिम साता, चितवनका अधिकांश खेतमा धान गोड्ने काम चलिरहेको छ। यही बेला धानलाई अत्यावश्यक युरिया मलको भने अभाव छ। सरकारी निकायले मल आपूर्ति भइरहेको दाबी गरे पनि अधिकांश किसानको भोगााइ फरक छ। कतै घण्टौँ लाइन बस्नुपर्ने बाध्यता छ भने कतै खेतको क्षेत्रफलअनुसार आवश्यक मल नपाउँदा किसान चिन्तित छन्। धानको उत्पादन निर्धारण गर्ने महत्वपूर्ण समयमा पर्याप्त मल नपाउँदा यस वर्ष पनि उत्पादन प्रभावित हुने चिन्ता किसानमा बढेको छ।
माडी नगरपालिका–२ का किसान नारायणप्रसाद पौडेलले दुई बिघा खेतमा धान लगाएका छन्। उनका अनुसार माडी क्षेत्रमा अहिले युरिया मलको समस्या धेरै गम्भीर छैन। धान रोप्ने बेलामा केही समस्या भए पनि अहिले सहकारीमार्फत किसानले मल पाउन थालेका छन्। ‘हाम्रोतिर अहिले खासै समस्या छैन,’ उनले भने, ‘तर भरतपुरतिर धेरै किसानले मल नपाएको सुनिरहेका छौँ।’
उनका अनुसार भरतपुर महानगरपालिकाको क्षेत्रफल ठूलो भएकाले उपलब्ध कोटाले माग धान्न सकेको छैन। ‘एउटा सहकारीले २५ देखि ४० बोराबाट बढी मल पाएको देखिँदैन। क्षेत्रफलअनुसार किसानले चाहेजति मल पाएका छैनन्। भरतपुरमा समस्या नै छ,’ उनले भने।
यता खैरहनी नगरपालिका निवासी किसान तारा चौधरीको अनुभव भने कष्टकर छ। उनले करिब डेढ बिघा खेतमा धान लगाएका छन्। गोडाइको समयमा आवश्यक पर्ने युरिया मल पर्याप्त नपाउँदा उत्पादनमै असर पर्ने चिन्ता उनको छ। ‘मलको समस्या छ,’ उनले भने, ‘हाम्रो टोल विकास संस्थाले कुपनका आधारमा कठ्ठाको दुई किलोका दरले मल दिएको छ। त्यो पर्याप्त हुँदैन। डेढ बिघा खेतमा मैले कम्तीमा दुई बोरा मल हाल्नुपर्छ, तर पाएको छैन।’
यसअघि मल लिन घण्टौँ लाइन बस्नुपर्ने अवस्था थियो। अहिले कुपन प्रणाली लागू भएपछि लाइन केही व्यवस्थित भए पनि किसानको आवश्यकता भने पूरा नभएको उनले बताए। ‘पैसा तिरेरै किन्छु भन्दा पनि मल पाइँदैन,’ उनले गुनासो गरे, ‘बाली बचाउने कि मल खोज्दै हिँड्ने ?’
चितवनको भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी र राप्ती नगरपालिकाका किसानको गुनासो एउटै छ, धान गोड्ने समयमै युरिया मलको अभाव। भरतपुर–११ का किसान विष्णु अधिकारीका अनुसार धान गोड्न सुरु गरिसकियो, तर मल छैन। ‘धान गोड्ने समय बित्न लाग्यो। बिहानैदेखि लाइन बस्दा पनि सबैलाई मल पुग्दैन। एक–दुई किलो मलका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ,’ उनले भने।
रत्ननगरका अर्का किसानका अनुसार हरेक वर्ष सरकारबाट समस्या समाधानको आश्वासन आए पनि धान रोप्ने र गोड्ने दुवै समयमा मल अभाव दोहोरिने क्रम रोकिएको छैन।
विगतको तुलनामा आपूर्ति राम्रो छ : बगाले
कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर कार्यालयका प्रमुख राजन बगाले भने जिल्लामा यस वर्षको आपूर्ति विगतको तुलनामा राम्रो रहेको दाबी गर्छन्। उनका अनुसार धान सिजनमा कार्यालयले तीन चरण गरेर युरिया मल वितरण गरिसकेको छ। हालसम्म २ हजार ८० मेट्रिक टन युरिया जिल्लामा ल्याइएकोमा १ हजार ६२५ मेट्रिक टन बिक्री भइसकेको छ भने ४५५ मेट्रिक टन मौज्दात छ।
उनका अनुसार अहिले पनि सहकारी र किसान समूहमार्फत वितरण भइरहेको छ भने भदौको पहिलो सातामा थप युरिया मल आउने तयारी छ। ‘मलको समस्या सबैलाई थाहा छ,’ उनी भन्छन्, ‘मागअनुसार आपूर्ति भने छैन। ५०० बोरा चाहिने ठाउँमा २०० बोरा मात्रै पुग्छ। त्यसैले पर्याप्त पाइएन भन्ने गुनासो स्वाभाविक हो।’
उनी यो समस्या नयाँ नभएको बताउँछन्। ‘झण्डै १० वर्षदेखि मैले यस्तै अवस्था देखेको छु।’ उनका अनुसार मुख्य कारण बजेट हो। ‘मल खरिदका लागि सरकारले करिब २८–३० अर्ब रुपैयाँकै हाराहारीमा बजेट छुट्याउँदै आएको छ। तर अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको छ। बजेट नबढेपछि पहिलेजति परिमाणमा मल खरिद गर्न सकिँदैन,’ उनले भने।
उनका अनुसार अहिले डिएपी मलको अभाव छैन, किनकि धान रोपाइँ सकिएकाले यसको माग घटेको छ। अहिले किसानलाई सबैभन्दा बढी आवश्यक युरिया मल नै हो, तर युरिया भने पर्याप्त आएको छैन।
एक साताभित्र थप युरिया आउँछ : दाहाल
साल्ट ट्रेडिङ कर्पोरेसन चितवनका कार्यालय प्रमुख बुद्धिविनोद दाहालले पनि धान गोड्ने समयलाई लक्षित गरी भदौको पहिलो साताभित्र थप युरिया मल आउने जानकारी दिए। उनका अनुसार साउन महिनामा मात्रै साल्ट ट्रेडिङले ५ हजार ३३९ बोरा युरिया, २ हजार ८९० बोरा डिएपी र ३३५ बोरा पोटास मल बिक्री गरेको छ।
‘डीएपी मलमा अहिले समस्या छैन। युरिया पनि केही दिनभित्र आउँछ,’ उनले भने, ‘प्रदेशबाट कोटा निर्धारण भएपछि मात्रै परिमाण थाहा हुन्छ।’ प्रमुख दाहालका अनुसार मल वितरणका क्रममा देखिने भीडको एउटा कारण किसानको मनोवैज्ञानिक त्रास पनि हो। उनले पछि पाइन्न कि भनेर पहिल्यै जोगाड गर्ने बानिले पनि मल वितरण केन्द्रहरुमा भिड लागेको दावी गरे। ‘सूचना जारी हुनेबित्तिकै सबै किसान एकैचोटि पुग्नुहुन्छ। भोलि पाइँदैन कि भन्ने चिन्ताले पनि भीड बढ्छ,’ उनले भने।
उनका अनुसार अहिले चितवनमा फर्टिलाइजर म्यानेजमेन्ट सिस्टम (एफएमएस) लागू गरिएको छ। किसानको विवरण र जग्गाको क्षेत्रफलका आधारमा मल वितरण गर्ने प्रणाली पूर्ण रूपमा लागू भएपछि लाइन व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। दाहालले नेपालमा सरकारी अनुदानको मलमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङमार्फत वितरण हुने भएकाले साल्ट ट्रेडिङसँग उपलब्ध हुने परिमाण सीमित हुने पनि बताए।
कृषि प्राविधिकहरूका अनुसार धान गोडेपछि समयमै युरिया मल प्रयोग गर्न नसके बोटको वृद्धि, गाभा लाग्ने क्षमता तथा अन्तिम उत्पादनमा प्रत्यक्ष असर पर्छ। त्यसैले यो समय मल उपलब्ध गराउन नसकिए उत्पादन घट्ने सम्भावना बढ्ने उनीहरूको भनाइ छ। चितवनमा यस वर्ष २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। अहिले अधिकांश क्षेत्रमा धान गोड्ने काम सुरु भइसकेको छ भने दोस्रो चरणको मल प्रयोग गर्ने समय चलिरहेको छ। यही समयमा रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन्।
किसानहरूले तत्काल पर्याप्त परिमाणमा युरिया मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। उनीहरूले प्रत्येक वर्ष धान रोपाइँ वा मल हाल्ने मुख्य समयमा दोहोरिने समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।