मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार

धितोपत्र बोर्डलाई रोङ गाउँपालिकाको तीनबुँदे ज्ञापनपत्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १८:५२:oo

धितोपत्र बोर्डलाई रोङ गाउँपालिकाले तीनबुँदे ज्ञापनपत्र बुझाएको छ । शुक्रबार बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई बोर्डको कार्यालय पुगेर रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले ज्ञापनपत्र बुझाएका हुन् । 

गाउँपालिकाले अभिभावकविहीन बालबालिका, अपांगता भएका नागरिक, स्वायंसेविका, बालशिक्षक, विद्यालयका कर्मचारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सार्वजनिक निष्कासन (आइपिओ)मा पाँच प्रतिशत सेयर कोटा कायम गर्न माग गरेको हो । यस्तै, साना तथा न्यून पुँजी भएकालाई लगानीकर्तामैत्री नीतिगत व्यवस्था गर्न गाउँपालिकाको माग छ । धितोपत्र बोर्डको नेसनल इन्भेस्टमेन्ट एजुकेसन मिसनअन्तर्गत बचत, वित्तीय तथा पुँजीबजार साक्षरता, सुरक्षित लगानी र दीर्घकालीन पुँजी निर्माणलगायत नमुना कार्यक्रम सञ्चालन गर्न ‘रोङ नमुना गाउँपालिका’ घोषणा कार्यक्रम कार्यान्वयन गर्न माग गरिएको गाउँपालिका अध्यक्ष स्याङ्बोले जानकारी दिए । 

ज्ञापनपत्र बुझ्दै धितोपत्र बोर्ड अध्यक्ष डा. भट्टले स्थानीय तहले दिएको यो सुझावले आफूहरू खुसी रहेको बताए । उनले बोर्डमा पनि नीतिगत छलफल भइरहेको बताउँदै कतै न कतै लक्षित वर्गलाई सम्बोधन गर्ने उनको भनाइ थियो । 

रोङ गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम कार्यविधि, २०८०’ निर्माण गरेर सामुदायिक विद्यालयका विद्यार्थीलाई बचत, सामाजिक सुरक्षा र उद्यमशीलतासँग जोड्ने कार्यक्रम अघि सारेको छ । अढाई वर्षदेखि एक रुपैयाँ विद्यार्थी बचत कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले विद्यार्थीलाई आइपिओमा सहभागी गराउन सुरु गरेको छ । यो कार्यक्रममा दुई हजार १२९ विद्यार्थीको बैंक खाता खोली अहिलेसम्म ७० लाख ५८ हजार ३६५ रुपैयाँ बचत भएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीको बचतलाई पुँजीबजारसँग जोड्न आइपिओमा लगानी गर्दै गाउँपालिकाले विद्यार्थी उद्यमशीलता कार्यक्रम अघि बढाएको अध्यक्ष स्याङ्बोले बताए । गाउँपालिकाले रु. १ बचतसँगै अभिभावकविहीन विद्यार्थी व्यवस्थापन, विद्यार्थी उद्यमशीलता र प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गरिरहेको उनको भनाइ छ ।