भिजिट भिसाको सेटिङ प्रकरणमा निलम्बनमा परेका सहसचिव तीर्थराज भट्टराईको पक्षमा अदालतमा बकपत्र गर्ने ट्राभल एजेन्सीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिएमसी ट्राभल पोखराका तत्कालीन मार्केटिङ अफिसर दीपक थापाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो।
थापाले सुरुमा अनुसन्धानमा सहयोग गरेपछि अख्तियारले मुद्दाको साक्षी बनाएको थियो। उनले भिजिट भिसामा हुने सहसचिव भट्टराईमार्फत हुने सेटिङ र त्यसको कारोबारका विषयमा अख्तियारलाई जानकारी दिएका थिए। विशेष अदालतमा बकपत्र गर्नेक्रममा त्यसको प्रतिकूल हुने गरी बताएपछि आयोगले उनलाई मुद्दा दायर गरेको हो। ३० लाख २० हजार बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर भएको हो।
सहसचिव भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख हुँदा ट्राभल एजेन्सीसँग मिलेर दिनमै लाखौँ असुल्ने गरेको छानबिनमा खुलेको थियो। सो पैसा उनले विभिन्न व्यक्तिको नाममा राखेको खुलेपछि भ्रष्टाचारसँथै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर भएकोमा छ। जुन मुद्दा विशेष अदालतमा विचाराधीन छ।