रास्वपा सांसद लिमा अधिकारीले ग्यास अभावका कारण नागरिकले भोगेको सास्तीप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सोमबारको संसद् बैठकमा बोल्दै सांसद अधिकारीले ग्यास आपूर्ति सहज नहुँदा नागरिकले साँझ–बिहानको छाक टार्न गाह्रो भएको बताइन् । सर्वसाधारण खाली ग्यास सिलिन्डर काँधमा बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य भएकोमा उनले चिन्ता व्यक्त गरिन् ।
‘आज घर–घरमा भान्छामा साँझ–बिहानको छाक टार्न धौ–धौ परेको छ । सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर काँधमा बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्,’ सांसद अधिकारीले भनिन्, ‘आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो ? एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ । योभन्दा ठुलो विडम्बना र सरकारको गैरजिम्मेवारीपन अरू के हुन सक्छ ?’
उनले दीर्घकालीन रूपमा ग्यासको विकल्प दिनुपर्ने भन्दै सरकारले ग्यास सिलिन्डरको लाइन होइन, तत्काल इन्डक्सन चुलो बाँड्ने योजना ल्याउनुपर्ने बताइन् । ग्यासको आपूर्तिमा पटक–पटक समस्या आइरहँदा विद्युत् खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित बनाइरहेका त छैनन् भन्ने प्रश्न गर्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताइन् ।
विद्युतीय चुलोको खपतलाई सुलभ बनाउन र नागरिकको भान्सा सहज बनाउने काममा सरकार तत्काल लाग्नुपर्ने उनको सुझाव छ ।