
अनुहारको छालामा देखिने दाग, डार्क सर्कल र धुलो हटाउनका लागि विशेषगरी फेसियल मास्कको प्रयोग गरिन्छ । फेस मास्क क्ले, जेल एन्जाइम्स, कोइलालगायतको मिश्रणबाट बनाइन्छ । यी मास्कहरू अनुहारमा रातभर पनि राखिने गरेको पाइन्छ । यस्तै फेस मास्क सिट मास्कको रूपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । जुन छालाको स्वास्थ्यअनुसार एक किसिमको कपडाबाट बनाइएको हुन्छ ।
सिट मास्कमा छालाका लागि आवश्यक पोषक र भिटामिनयुक्त सेरम प्रयोग गरिएको हुन्छ । छाला सफा र कोमल राख्न प्रयोगमा ल्याइने यी मास्कहरू धेरैजसो रातको समयमा प्रयोग गरिन्छन् । ओभरनाइट फेस मास्क वा स्लिप प्याक सामान्यतया छालालाई असर नपर्ने गरी रातको समयलाई पनि अनुकूल हुने गरी उत्पादन गरिएको कम्पनीहरूको दाबी हुन्छ । त्यसो भए के अनुहारको छाला सफा राख्नका लागि प्रयोगमा ल्याइने मास्कहरू रातभरि छोड्नु सुरक्षित हुन्छ त ?
फेस मास्क प्रयोगका फाइदा
फेसप्याक वा फेस मास्क अनुहारको मोस्चराइजरका लागि उपयुक्त मानिन्छन् । खासगरी छालामा दाग वा अन्य समस्या भएका व्यक्तिले ओभरनाइट फेस्क मास्कहरू प्रयोगमा ल्याउँछन् । यी मास्कमा स्यालिसिलिक, ग्लाइकोलिक, हायलुरोनिकजस्ता एसिड प्रयोग गरिने हँुदा छालाका समस्या समाधानका लागि प्रभावकारी मानिन्छन् । योसँगै सिट मास्कमा हुने पानीको मात्राले छालालाई हाइड्रेट रहन मद्दत गरिरहेको हुन्छ । सामान्यतया मेकअप, धुवाँधुलोले छालामा पार्ने असर कम गर्न यस्तो मास्क निकै प्रचलित छ । सामान्य मास्कको तुलनामा यी मास्कहरूमा छाला स्वस्थ राख्न विभिन्न वस्तुको प्रयोग गरिने भएकाले सुक्खा छाला भएका व्यक्ति र वृद्धवृद्धाका लागि झनै उपयुक्त हुन्छन् ।
निदाएको वेला छालामा रक्तप्रवाह बढी हुने गर्छ, जुन समयमा कोलाजेन, युभी एक्सपोजर, चाउरी र उमेर बढ्दै जाँदा छालामा आउने नाजुकता हटाउने प्रक्रिया हुन्छ । रातको समयमा मास्कको प्रयोग गर्दा यसमा हुने विभिन्न पोषणले छालामा रहेका समस्या निको हुन झनै मद्दत गर्छ । यसमा प्रयोग हुने एसिड, भिटामिन र अन्य तत्वले छालामा रहेका निष्क्रिय कोष, धुलो र यसले निम्त्याएका दागहरूलाई हटाउँछ ।
कति सुरक्षित ?
सुत्नुभन्दा पहिला फेस मास्कको प्रयोग गर्न सकिन्छ । एलर्जी र अन्य समस्या हुन नदिन मास्क प्रयोग गर्नुभन्दा पहिला अनुहार सफा र सुक्खा पार्नुपर्छ । यदि फेस मास्क क्रिम फर्ममा भए हात सफा गरेर वा सफा ब्रसको प्रयोग गर्न सकिन्छ । र, सुत्ने समयसम्म फेस मास्क सुकिसकेको हुनुपर्छ ।
छालाको सुरक्षाका लागि प्रयोगमा ल्याइने यस्ता मास्कको प्रयोग गर्नुअघि छाला पूर्ण रूपमा स्वस्थ भए–नभएको यकिन गर्न आवश्यक हुन्छ । छालामा गम्भीर समस्या भए, घाउ भएमा फेस मास्कको प्रयोग गर्नुहुँदैन । साथै सबै किसिमका फेस प्याकहरू रातभरि अनुहारमा लगाएर छोड्न मिल्दैन । यसले छालामा प्रतिकूल असर पर्छ । यदि अनुहारको छालामा अन्य सामग्री प्रयोग गरिरहेको अवस्थामा फेस मास्कको प्रयोग उपयुक्त मानिँदैन ।
–एजेन्सीको सहयोगमा