अर्थमन्त्री विष्णु पौडेलले सेयर ब्रोकरहरूको कमिसन घटाउन निर्देशन दिएका छन् । पुँजी बजार बढ्न र विस्तार हुन लागिसकेकाले अहिलेका समस्याहरू तत्काल समाधान गर्न समयतालिका बनाएर कार्यान्वयन गर्न अर्थमन्त्री पौडेलले निर्देशन दिएका हुन् ।
धितोपत्र बोर्डले चार महिनाअघि ब्रोकर कमिसन सम्बन्धमा अध्ययन गरेको भए पनि हालसम्म कार्यान्वयनमा ल्याएको छैन । १ पुसबाट कार्यालय आएका बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना केही समय मुलुकबाहिर रहेकाले कार्यान्वयन गर्न ढिलाइ भएको स्रोतको भनाइ छ । ‘कमिसन घट्नुपर्छ भन्ने नै अध्ययनको निष्कर्ष हो,’ बोर्ड स्रोतले भन्यो, ‘कमिसन बजारका लागि संवेदनशील विषय भएकाले पनि अन्य कुरा खुलाउन मिल्दैन ।’
यसअघि साउन २०७३ मा सेयर लगानीकर्तालाई राहत हुने गरी ब्रोकर कमिसन ४० प्रतिशतसम्म घटाइएको थियो । अहिले दैनिक कारोबार रकम उच्च हुन थालेपछि यो दर थप घटाउनुपर्ने लगानीकर्ताले माग गरेका हुन् । धेरै कारोबार अनलाइनमार्फत भइरहेकाले ब्रोकरको भूमिका कम भएको भन्दै ब्रोकर कमिसन घटाउन उनीहरूले माग गरेका हुन् । अहिले दैनिक औसत ८५ प्रतिशत कारोबार अनलाइनबाट हुने गरेको छ ।
अहिले ५० हजारसम्मको कारोबारमा शून्य दशमलव ६ प्रतिशत, सोभन्दा माथि ५ लाखसम्म शून्य दशमलव ५५ प्रतिशत, सोभन्दा माथिदेखि २० लाखसम्म शून्य दशमलव ५० प्रतिशत, सोभन्दा माथिदेखि १ करोडसम्म शून्य दशमलव ५५ प्रतिशत कमिसन लाग्छ । १ करोडभन्दा माथिकोमा भने शून्य दशमलव ४ प्रतिशत कमिसन लाग्ने गरेको छ ।
५० हजारभन्दा कम रुपैयाँको कारोबारमा प्रतिकारोबार २५ रुपैयाँ शुल्क ग्राहकले तिर्नुपर्छ । पछिल्लो समय दैनिक कारोबार रकम ४ अर्बमाथि रहँदै आएको छ । ब्रोकरहरूले यो कारोबारमा दैनिक ६ करोडसम्म आम्दानी गर्न थालेका छन् ।