मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २६ शुक्रबार १७:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २६ शुक्रबार १७:०३:००

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारे छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्यमन्त्री ढकालसँग छलफल गर्ने भएको हो । 

त्यसका लागि आगामी बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए । 

समितिले यसअघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरीकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो । तर, लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन । अबको बैठकमा भने स्वास्थ्यमन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो ।

यस्तै समितिको बैठक लामो समय नबस्दा उजुरीको संख्या पनि बढेको छ । अहिलेसम्म एक दर्जन बढी उजुरी परेको पनि सचिव पाण्डेले बताए । 

विशेषगरी सार्वजनिक खरिद ऐनलाई कार्यान्वयन गर्ने सिलसिलामा भएका अनियमितताका कुराहरूलाई लिएर उजुरी परेको छ ।

सडक निर्माण, विद्युत् प्राधिकरणमार्फत हुने ठेक्काको विषयलगायतका विषयमा उजरी परेको छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा उपसमितिले अध्ययन गरेको विषयमा समेत आगामी बैठकमा छलफल गर्ने तयारी गरिएको पनि पाण्डेले बताए ।