मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडाैं
२०७७ मङ्सिर १९ शुक्रबार ०६:२४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ पत्रिका समाचार प्रभाव :तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न अर्थ मन्त्रालयको पुनः निर्देशन

बिमा समिति र कम्पनीले निर्देशन नमानेपछि अर्थ मन्त्रालय आक्रामक

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७७ मङ्सिर १९ शुक्रबार ०६:२४:००

सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तीन दिनभित्र भुक्तानी गर्न अर्को निर्देशन दिएको छ । गत १८ कात्तिकमा अर्थमन्त्री उपस्थित बैठकले गरेका निर्णयहरूसमेत कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले तीन दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी गर्न बिमा समितिलाई निर्देशन दिएको हो ।

नयाँ पत्रिकाले बुधबार अर्थमन्त्रीको निर्देशन बिमा कम्पनीले नमानेको विषयमा समाचार प्रकाशित गरेपछि मन्त्रालयले बिहीबार अर्को निर्देशन दिएको हो । ‘कोरोना बिमा दाबी भुक्तानी मापदण्डबमोजिम प्रक्रिया र कागजपत्र पुगेको दाबीको तीन दिनभित्र भुक्तानी गरी दैनिक रूपमा मन्त्रालयमा जानकारी गराउनू,’ अर्थ मन्त्रालयले समितिलाई लेखेको पत्रमा उल्लेख छ । त्यस्तै, मन्त्रालयले भेरिफिकेसन गर्न बाँकी दाबीको जति सक्दो छिटो भेरिफिकेसन सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । 

 कम्पनीअनुसार दाबी भएको विवरण पठाउन निर्देशन
अर्थ मन्त्रालयले दाबी हुन बाँकी रहेका बिमा पोलिसीको विवरण मन्त्रालयमा पठाउनसमेत निर्देशन दिएको छ । भुक्तानी हुन बाँकी रहेको प्रत्येक कम्पनीको छुटाछुट्टै विवरण, भुक्तानी हुन नसक्नुका कारण र समस्या समाधानका लागि बिमा समितिले गरेको प्रयासको बारेमा मन्त्रालयमा विवरण पठाउन निर्देशन दिएको छ । साथै मन्त्रालयबाट सहजीकरणका लागि गर्नुपर्ने विषयहरूसमेत पठाउन निर्देशन दिएको छ । 

 कोरोना बिमा दाबीको तथ्यांक सार्वजनिक गर्न निर्देशन
अर्थ मन्त्रालयले कोरोना बिमा दाबीसम्बन्धी सबै तथ्यांक सार्वजनिक गर्नसमेत बिमा समिति, नेपाल बिमक संघ र राष्ट्रिय बिमा कम्पनीलाई निर्देशन दिएको छ । कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएको दाबी संख्या, भेरिफिकेसनका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, भेरिफिकेसन नभएका वा नक्कली दाबीको संख्या, दाबी भुक्तानी विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकीको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

यसअघि अर्थ मन्त्रालयले दाबी भुक्तानीको दैनिक प्रगति प्रतिवेदन पठाउनसमेत बिमा समितिलाई निर्देशन दिएको थियो । त्यस्तै, हटलाइन फोन सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, बिमा समितिले कुनै पनि निर्देशन कार्यान्वयन गरेको अर्थ मन्त्रालयले नै जनाएको छ ।

हालसम्म बिमा कम्पनीहरूमा ३२ हजार ७ सय ८४ बिमितले ३ अर्ब १८ करोड भुक्तानीका लागि दाबी गरेकोमा १५ प्रतिशत अर्थात् ४ हजार ९ सय २९ को ४७ लाख ७७ हजार मात्रै भुक्तानी गरेका छन् । बिमा समितिका तथ्यांकअनुसार गत आइतबारसम्ममा कम्पनीहरूले परेको कोरोना बिमा दाबी रकममध्ये २ अर्ब ७० करोड भुक्तानी हुन बाँकी छ । यो रकम २७ हजार ८ सय ५५ वटा बिमा दाबीबापतको रकम हो । 

कम्पनीहरूले १ लाख ५७ हजार ३ सय ७ कोरोना बिमा बिक्रीबापत ९८ करोड ६० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । राष्ट्रिय बिमा कम्पनीमा मात्रै २५ हजार दाबी परेको स्रोतको दाबी छ । जुन बिमा समितिको तथ्यांकमा समावेश भएको छैन ।