मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २० बिहीबार १२:४१:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोरोना कहरबीचकाे फुटबल : नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न बंगलादेश गयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २० बिहीबार १२:४१:००

गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । 

मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोली बंगलादेशको एक साता बसाइमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किनेछ ।

लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदै गर्दा निकै उत्साहित देखिएको छ । 

बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा आठ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोलीबाहिर रहेका छन् । 

यस्तै अन्य सात खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरू आइसोलेसनमा छन् । 

नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलोपटक सिनियर टोलीमा अटाएका हुन् । 

मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाय कार्यक्रमपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाइ थप फलदायी हुने अपेक्षा लिएको बताए । 

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । 

कोरोनाको महामारीपछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए । 

तर, महामारीबीच सुचारु भएको छोटो अभ्यासले मैत्रीपूर्ण खेल निकै चुनौती पूर्ण भएको प्रतिक्रिया व्यक्त गरे । 
यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताए । 

साथै बंगलादेशसँगको मैत्रीपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रीपूर्ण खेलले अनुभव दिने पनि उनले बताए । 
नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रीपूर्ण खेलमा सुखद नतिजा निक्लिने खवासले विश्वास व्यक्त गरे । 

अखिल  नेपाल फुटबल संघ (एन्फा)ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पिसिआर परीक्षण गरेको थियो । 

उक्त परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता बिताएपछि मात्रै मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।