१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १४ शुक्रबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक १४ शुक्रबार o७:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दशरथ रंगशालामा फुटबल प्रशिक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक १४ शुक्रबार o७:oo:oo

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीको प्रशिक्षण दोस्रोपटक गरेको हो । २०२२ को विश्वकपअन्तर्गत एसियन छनोटका लागि एन्फाले साउनमा पनि खेलाडीलाई प्रशिक्षणमा राखेको थियो । त्यसवेला निषेधाज्ञा जारी भएपछि प्रशिक्षण रोकियो । 

एन्फाले यसपटक बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण थालनी गरेको हो । नेपालले एक साताको अन्तरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकाको बंगबन्धु रंगशालामा २८ कात्तिकमा पहिलो खेल हुनेछ । २ मंसिरमा नेपालले बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि बंगलादेशसँग अभ्यासका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

दशरथ रंगशालामा बिहीबार दिउँसो २ बजे खेलाडी अभ्यासमा संलग्न भएका थिए । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन तथा गोलरक्षक प्रशिक्षकका रूपमा विकास मल्ल छन् । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिन नेपाल आउन नसक्ने भएपछि एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी महर्जनलाई दिएको हो ।

कालिन अहिले स्विडेनमा छन् । स्विडेनले अहिले आफ्ना नागरिकलाईबाहिर जान अनुमति दिएको छैन । राष्ट्रिय खेलकुद परिषद्ले फुटबल खेलाडीको प्रशिक्षण अनुमति दिएपछि एन्फाले खेलाडीलाई रंगशालामै अभ्यास गराएको हो ।

एन्फाले पटकपटक खेलाडीहरूको प्रशिक्षण सुचारु गर्न परिषद्सँग पत्राचार गर्दै आइरहेको थियो । काठमाडौं आएका खेलाडीलाई त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा बस्ने व्यवस्था एन्फाले गरेको छ । एन्फाले विश्व स्वास्थ्य संगठन, फिफा, एएफसी
तथा नेपाल सरकारको प्रोटोकलअनुसार प्रशिक्षण गराएको छ ।

रंगशालाभित्र खेलाडीलाई स्यानिटाइजर तथा हात धुने व्यवस्था गरिएको छ । प्रशिक्षण गर्नुअघि खेलाडीहरूले मास्क लगाएका थिए । प्रशिक्षणको पहिलो दिन ३० खेलाडी मात्र सहभागी भए । प्रशिक्षक महर्जनले खेलाडीहरूलाई पहिलो दिन प्रारम्भिक अभ्यास गराएका थिए । एन्फाले विश्वकप छनोटको तयारीका लागि गोलरक्षक प्रशिक्षकका रूपमा मल्ललाई चयन गरेको थियो ।