१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक ६ बिहीबार ०८:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा–आराधना गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक ६ बिहीबार ०८:५८:००

नवरात्रको छैटौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा–आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

दोस्रो दिन आइतबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा–आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा–आराधना गरियो । चौथो दिन मंगलबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिएको थियो भने पाँचौँ दिन बुधबार स्कन्दमाताको पूजा–आराधना गरियो । छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ । 

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा–आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

कुनै समय देवताको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पुराणमा उल्लेख छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातम खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एकप्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठुल्ठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा–आराधना एवं दर्शन गर्ने भक्तजनको भिड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ । जहाँ भक्तजन पुग्ने गरेका छन् ।
 
कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दसैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । दसैँको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट संक्रमित  हुने पनि बढिरहेकाले प्रत्येक व्यक्तिले सचेतता अपनाउनु जरुरी छ । रासस