मध्यपहाडी लोकमार्गको मल्मदेखि काँडेबासको पचुवा जोड्ने दरमखोलामा निर्माणाधीन मोटरेबल पुल बेवास्ताको सिकार
खोलाको वारिपारि फलामे रडसँग बुनेर पिल्लर ठड्याइएको छ । एकापट्टिको तल्लो भागमा ढलान गरिए पनि माथिल्लो भागको रड खिया लागिसकेको छ । खोलाको किनारमा राखिएका निर्माण सामग्री पानीले बगाइसकेको छ । हेर्दा लाग्छ, त्यहाँ पुल होइन, पुलको अस्थिपञ्जर छ । हो, मध्यपहाडी लोकमार्गको मल्मदेखि काँडेबासको पचुवा जोड्ने दरमखोलामा निर्माण थालिएको मोटरेबल पुल अहिले यही अवस्थामा छ ।
समयमै काम सकिएको भए दुई वर्षअघि नै यहाँ गाडी गुडिसकेका हुन्थे । तर, निर्माण कम्पनीले बेवास्ता गर्दा गलकोट नगरपालिका– ८ काँडेबासका स्थानीय अझै पनि सास्ती खेप्न बाध्य छन् । यो पुल निर्माण गर्न वाइपी कन्स्ट्रक्सनले ०७३ मा ठेक्का सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक पाँच करोड ४२ लाख तीन हजार सात सय ३१ रुपैयाँको लागतमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने भनिए पनि चार वर्ष बितिसक्दासमेत निर्माण अघि बढ्न सकेको छैन ।
चार वर्षमा ३५ प्रतिशत काम
निर्माण कम्पनीले काम नगरेपछि स्थानीय जनप्रतिनिधिले सडक डिभिजन कार्यालय बाग्लुङदेखि प्रदेश सरकार र केन्द्र सरकारको मन्त्रालयसम्म धाएको धेरै भयो । तर, जहाँ जति धाए पनि ठेकेदारले काम अगाडि नबढाएको गल्कोट नगरपालिका– ८ का वडाध्यक्ष रामप्रसाद कँडेलले बताए । ‘दुई वर्षमा सक्ने गरी सम्झौता भएको रहेछ । वडाध्यक्ष कँडेलले भने, ‘साढे चार वर्ष हुन लागिसक्यो, ३५ प्रतिशत पनि काम भएको छैन ।’
आफूहरूले सडक डिभिजनदेखि प्रदेश र केन्द्र सरकारसम्म धाएको उनले जानकारी दिए । उनले भने, ‘ठेकेदारले नै लापरबाही गरेपछि कसको केही लाग्दो रहेनछ । हामीले धेरै धायौँ, तर काम भएन । अहिले त हार खाइयो ।’ यसरी करोडौँको योजना अलपत्र पर्दा पनि जिम्मेवार निकायले चासो नदिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताए । उनले निर्माण कम्पनी र ठेकेदारलाई पनि सम्बन्धित निकायले कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
पुससम्म म्याद थपियो, काम बढेन
सडक डिभिजन कार्यालय बाग्लुङका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीलाई नियामवलीको नवौंँ संशोधनअनुसार सरकारले पुनः एक वर्षको म्याद थप गरिदिएको छ । तर, थपिएको मितिदेखि हालसम्म एक साइडको पी सेटमा एक लिफ्ट ढलान र केही जाली भर्नुबाहेक अन्य काम भएको छैन । कार्यालय प्रमुख लम्सालले आगामी पुस मसान्तसम्मको कार्यप्रगति हेरेर प्रक्रिया अगाडि बढाउने बताए ।
वाइपी कन्स्ट्रक्सनका सञ्चालक रविन जोशीले भने केही अवरोधका कारण काम अघि बढ्न नसकेको बताए । दक्षिणतर्फबाट निर्माण सुरु गरिएको, तर सुरुमै बाढी पसेर काममा अवरोध आएको भन्दै उनले पछिल्लो समय कोभिड– १९ संक्रमणका कारण निर्माण रोकिएको दाबी गरे । ‘बाढी र कोरोनाका कारण काममा ढिलाइ भएको हो,’ जोशीले भने, ‘हामी दसैँलगत्तै कामलाई निरन्तरता दिने तयारीमा छौँ ।’ स्थानीयवासी भने बाढी र कोरोना भन्ने कुरा ठेकेदारको बाहनाबाजी मात्रै भएको बताउँछन् ।
पचुवामा बन्न लागेको सो पुलले निर्माण सम्पन्न भएपछि काँडेबासलाई मध्यपहाडी लोकमार्गसँग जोड्ने छ । पुलले गलकोट मात्रै नभएर बरेङ गाउँपालिका र गुल्मीको चन्द्रकोट गाउँपालिकालाई पनि मध्यपहाडी लोकमार्गसँगै सहजै जोड्ने छ । दरमखोलामा पुल नबन्दा वर्षायाममा यातायात पूर्ण रूपमा ठप्प हुने गरेको छ भने झोलुंगेपुल तरेर घन्टौँ हिँड्नुपर्ने बाध्यता छ ।