१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक १ शनिबार १८:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ढुंगेधारा मर्मत र सामान्य शौचालय बनाउन १७ लाख खर्च 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १ शनिबार १८:४४:००

बझाङको साइपाल गाउँपालिका– ३ मा खानेपानी उपभोक्ता समितिले ढुंगेधारा मर्मत गरी १७ लाख हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन् । गाउँ खानेपानी उपभोक्ता समितिले पुरानो ढुंगेधारालाई मर्मत गरी १७ लाख हिनामिना गरेको स्थानीयको आरोप छ । 

सुदूरपश्चिम प्रदेश सरकारबाट गत आर्थिक वर्ष ०७६/७७ मा गाउँ खानेपानी निर्माण शीर्षकमा १७ लाख बजेट विनियोजन भएको थियो । समितिले पुरानो ढुंगेधारालाई प्लास्टर गरी १७ लाख रुपैयाँ खर्च भइसकेको भनी सार्वजनिक सुनुवाइसमेत गरेको छ । 

सामान्य ढुंगेधाराको मर्मत गरी १७ लाख रुपैयाँ खर्च भइसकेको भन्ने सार्वजनिक सुनुवाइपछि विवाद उत्पन्न भएको छ । समितिले ढुंगेधाराको प्लास्टरसहित छेउमा सानो शौचालय निर्माण गरेको छ । 
स्थानीय रमेश बोहराका अनुसार १७ लाख खर्च भएको भनिएको काम गर्न करिब दुई लाख भए  पुग्छ । भ्रष्टाचारका कारण गाउँमा विकासले गति लिन नसकेको उनको दाबी छ । 

सुदूरपश्चिम प्रदेश सरकारबाट साइपाल गाउँपालिकामा आउने गरेका विकास बजेटमा २० प्रतिशतदेखि ३५ प्रतिशतसम्मको रकम बजेट ल्याउन पहल गर्नेहरूका लागि छुट्याइने गरेको स्थानीयहरूको भनाइ छ । 

गाउँ खानेपानीको बारेमा साइपाल गाउँपालिकाका उपाध्यक्ष कल्पना बोहरासँग जानकारी लिन खोज्दा उनले यसबारे आफूलाई कुनै जानकारी नभएको बताइन् । उनले बुझेर पछि जवाफ दिने बताइन् । 

साइपाल गाउँपालिका– १ का वडाध्यक्ष गोपाल बोहराले सामान्य शौचालय र पुरानो ढुंगेधारा प्लास्टर गर्न १७ लाख कसरी खर्च भयो भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए । 

गाउँ खानेपानी उपभोक्ता समितिका सचिव पूर्ण बोहराले आफूले इस्टमेटअनुसारको काम गरिसकेको, तर गाउँमा गुनासो बढेपछि गाउँपालिकाले सात लाख मात्र भुक्तानी दिएको र १० लाख भुक्तानी दिन बाँकी रहेको बताए ।