कांग्रेसले दसैँलगत्तै आन्दोलन गर्ने, कोरोना समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको आरोप

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकोले दसैँलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन थाल्ने बताएका हुन् । 

कांग्रेसले गठन गरेको कोभिड– १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि देउवाले दसैँलगत्तै संसद्भित्र र बाहिर देशभर सशक्त आन्दोलन गर्ने बताए । कोभिड– १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको उनको आरोप छ । 

सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लीन रहेको देउवाको दाबी छ । औषधिको व्यवस्था, क्वारेन्टिन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटरलगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको, तर कुनै पनि काम जिम्मेवारीपूर्वक नगरेको उनले जिकिर गरे । 

कांग्रेस सहमहामन्त्री एवं कोभिड– १९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक–सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताए । उनले सरकारलाई जिम्मेवार बनेर काम गर्न सुझाबसमेत दिए । 

कोभिड– १९ का कारण नागरिक समस्यामा परेको भन्दै उनले उद्धार र राहतको समुचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन उनको माग छ  । 

कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका विज्ञ र कोभिड– १९ रोकथाम तथा नियन्त्रणमा खटिएका व्यक्तिसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड– १९ संक्रमण समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।
 

सुझावित समाचार