मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार १६:४३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

खाद्य संस्थानले कात्तिक ३ देखि खसीबोकाको बिक्री गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार १६:४३:००

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका बिक्री सुरु गर्ने भएको छ । 

कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दसैँका लागि खसीबोका बिक्री–वितरणको काम सुरु हुने भएको हो । 

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । तर, यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङ्ग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ । 

यस्तै दुई हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाइ हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्रा गौतमले बताइन् । 

यस वर्ष तुल्सीपुर, दाङ र हेटौँडाबाट एक हजारवटा खसीबोका ल्याइएको उनले बताइन् । 

कम्पनीले यसअघि दसैँका लागि एक हजारवटा खसीबोका र एक हजारवटा च्याङ्ग्रा बिक्री गर्ने बताएको थियो ।

तर, कोराना भाइरसको संक्रमणले गर्दा बजारमा आमउपभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यस वर्ष कम आपूर्ति गर्न लागिएकोउनकाे भनाइ छ । 

पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताइन् । 

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसीबोकाको मूल्य गत वर्षभन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताइन् । 

मूल्य निर्धारण भने आइतबार साँझ मात्रै तय हुने उनको भनाइ छ । 

कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो पाँच सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री–वितरण गरेको थियो । उक्त मूल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेको थियो ।

कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने बताएको छ । दसैँका वेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ । 

दसैँलाई लक्षित गरेर निजी व्यवसायीले समेत गाउँगाउँमा गएर खसीबोका खरिद गरेर बजारमा ल्याउन सुरु गरिसकेका छन् । 

स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात हुने गर्छ ।